धादिङमा विविध कार्यक्रमसहित ३१ औँ जनयुद्ध दिवस मनाइँदै

Avatar photo
Dhadingpost
माघ २९, २०८२

धादिङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धादिङले फागुन १ गते जिल्लाका सबै पालिकामा विविध कार्यक्रम आयोजना गरी ३१ औँ जनयुद्ध दिवस मनाउने भएको छ।

सोही कार्यक्रमअन्तर्गत नेकपा नीलकण्ठ नगर समितिले जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको बेपत्ता स्मृति प्रतीक्षालयमा बिहान ८ बजे सरसफाइ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। त्यसैगरी, सोही स्थानमा साँझ ६ बजेदेखि दीप प्रज्वलन गरी सहिद तथा बेपत्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवस मनाइने पार्टीले जानकारी दिएको छ।

जनयुद्धमा धादिङको मानवीय क्षति

जनयुद्धको क्रममा धादिङ जिल्लामा ठूलो मानवीय क्षति भएको तथ्याङ्कले देखाउँछ। प्राप्त विवरणअनुसार धादिङ निवासी

  • माओवादी कार्यकर्ता १०७ जना मारिए
  • सुरक्षाकर्मी ४२ जना मारिए
  • सर्वसाधारण नागरिक ३१ जना मारिए
  • एमाले, कांग्रेस र राप्रपाका कार्यकर्ता २२ जना मारिए भने
  • २६ जना अझै बेपत्ता रहेका छन्।

धादिङमा जनयुद्धको सुरुवात कसरी भयो?

२०५२ साल फागुन १ गते जनयुद्धको औपचारिक घोषणासँगै धादिङ जिल्लामा पनि क्रान्तिको प्रचार अभियान सुरु भएको थियो। सदरमुकाम धादिङबेसीमा पुष्पविक्रम मल्ल (सिंह) र विष्णुपुकार श्रेष्ठले प्रचारात्मक गतिविधि सञ्चालन गरे भने दक्षिणी धादिङ (राजमार्ग क्षेत्र) मा मोहन कार्की (जिवन्त) र उत्तरी धादिङमा रामबहादुर भण्डारीले संगठन विस्तार र प्रचारको नेतृत्व गरेका थिए।

सदरमुकाममा जनयुद्धको प्रचार गर्नु त्यतिबेला निकै जोखिमपूर्ण मानिन्थ्यो। त्यस्तो अवस्थामा पनि पुष्पविक्रम मल्लको साथमा नानीराम थापा, अमृत अधिकारी तथा एक जना हाल वहालवाला निजामती कर्मचारीले पर्चा टाँस्ने र प्रचार गर्ने कार्यमा सहयोग गरेका थिए। उक्त दिन साँझ प्रचार सकेर पुष्पविक्रम मल्ल नीलकण्ठ बसाह टिका बहादुर भण्डारीको घरमा बास बसेका थिए भने अन्य प्रचारकर्ता आ–आफ्नो घर फर्किएका थिए।

हाल पुष्पविक्रम मल्ल माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको केन्द्रीय सदस्य छन् भने नानीराम थापा धादिङबेसीमा कपडा पसल सञ्चालन गर्दै आएका छन्।

दक्षिणी र उत्तरी धादिङमा आन्दोलन

दक्षिणी धादिङमा मोहन कार्कीलाई ढुण्डबहादुर सिलवाल, नेत्र सिलवाल र इन्द्र थपलियाले साथ दिएका थिए।

उत्तरी धादिङको सल्यानटार, बसेरी, बुढाथुम, फुलखर्क, खहरे, मार्पाक, सेमजोङ, गुम्दी र ज्यामरुङ क्षेत्रमा एकैसाथ प्रचार–प्रसार गरिएको थियो। रामबहादुर भण्डारीको नेतृत्वमा बसेरीमा होमनाथ न्यौपाने, नवराज अधिकारी, मित्रलाल न्यौपाने, रामेश्वर सिंखडा, केशरीप्रसाद पन्त, टपनारायण श्रेष्ठ, भुवन धरेल, किशोर धरेल र गणेश थापाले सक्रिय भूमिका खेलेका थिए।

जनयुद्धकालमा जिल्ला जनसरकार प्रमुखसमेत रहेका भण्डारीका दुई छोरा जनयुद्धमै शहीद भएका थिए भने उनी स्वयं पनि घाइते नेता हुन्। हाल उनी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेकपाबाट उम्मेदवार रहेका छन्।

जनयुद्ध विस्तारका प्रमुख नेताहरू

२०५३ सालसम्म आइपुग्दा धादिङमा शेरबहादुर भण्डारी (ज्योति), यमबहादुर अधिकारी (प्रतिक्षा) र बुद्धिलाल तामाङजस्ता लोकप्रिय नेताहरू जनयुद्धमा थपिएका थिए।

तीमध्ये शेरबहादुर भण्डारी (ज्योति) धादिङ जिल्लाका फौजी तथा गैरफौजी योजनाकारका रूपमा स्थापित हुँदै जिल्ला सेक्रेटरीको जिम्मेवारीमा थिए। यमबहादुर अधिकारी जनमुक्ति सेनाद्वारा सञ्चालन गरिएका धेरैजसो फौजी कारबाहीका नेतृत्वकर्ता थिए। उनकै कमाण्डमा कृष्णभीर आक्रमण भएको थियो। पार्टी निर्देशनअनुसार सेना समायोजनमा गएपछि उनी हाल नेपाली सेनामा कार्यरत छन्।

त्यस्तै, जनयुद्धको मध्यतिर लोकप्रिय बन्दै गएका बुद्धिलाल तामाङ सेनाद्वारा गिरफ्तार भएपछि क्यानडा गएका थिए र हाल पनि उतै रहेका छन्।