जनार्दन आफ्नो यात्रामा निस्किए, प्रचण्डकै भाषामा-रेलगाडी छुटिसक्यो

Avatar photo
Dhadingpost
कार्तिक २२, २०८२

क्रान्तिकारी बन्नु र क्रान्तिकारी विचारमा अडिक रहनु, अटल रहनु, निरन्तर वर्ग संघर्षमा रहिरहनु, अबिचलित वर्गीय आन्दोलनमा हात धोएर लाग्नु — यो सानो तपस्या र त्यागले सम्भव छैन।
नेता बनेर भाषण गर्दै हिँड्नु, पद–पावरमा पुग्नु मात्रै होइन; पार्टी, विचार र निर्देशनलाई अक्षरशः पालन गर्दै निरन्तर निस्वार्थ वर्गीय मार्गमा हिँडिरहनु सामान्य चुनौती होइन र हुन पनि सक्दैन।

एकाध नेताले पिठ्युँमा धाप मारेर “सन्चै हुनुहुन्छ” भनेर बोलेकै भरमा आम जनसमुदायमा खुशीले गद्गद् भई निरन्तर मार्क्सवादको लाइनमा हर्षो–दीर्घ नभई अबिचलित रहनु — यो सजिलो कुरा होइन।
जिल्लादेखि केन्द्रसम्मका नेताहरूले गरेका हरेक कमजोरीहरू लुकाएर पनि वर्ग दुश्मनसँग लडिरहने निःस्वार्थ वर्गीय कार्यकर्ता भई रहनु सानो चुनौती होइन।

वर्ग विभेदको चेत भएका आम माओवादीहरू सबै गलत भइसकेका छैनन्, थिएनन् र निराश पनि अझै भएका छैनन्। बरु अझ राम्रो होला, गल्ती भयो भने सुध्रेला भन्ने आशा उनीहरूमा अझै जीवित छ।
जनयुद्ध र माओवादी धरातल टेकेर स्थापित भएको माओवादी कहाँ–कहाँ स्खलित भयो भनेर टिप्पणी गर्दा कुरा काटिएको मानिन्छ, फेरि ‘लगाउँछन्’ पनि, खैर ठिकै छ — फरक मत राख्नेहरूलाई राजनीतिक क्षेत्रमा खासै फाप्दैन।
कम्युनिस्ट पार्टीमा फरक मत र आलोचना गर्नका लागि बैठकहरू हुन्छन् — त्यसैले कुरा उठाउन डराउनु हुँदैन।

निरन्तर माओवादी पार्टी र त्यसको विचारधारालाई सिरोपार गर्दै हिँड्ने हामीजस्ता हरीलट्ठ कार्यकर्ताहरूले हरेक दिन “फलानोको झोले” भनेर अघाउँजेल गाली खाँदा पनि फेरि भात रुच्छौं।
डोटी र ताप्लेजुङतिरका नेताहरूलाई कसैले खिसी–ट्युरी गरे प्रतिवाद गर्न तयार रहन्छौं — कुनै घरमालिकको बफादार जर्मन सेफर्ड भन्दा कम छैनौं।

आफ्नो घरमा डाका लाग्दा मात्र होइन, छिमेकीको घरमा आधी रातमा ढोका बज्यो भने पनि भुकी दिन्छौं — अर्थात् आफ्ना जिल्लाका जाने–मानेका नेताहरूलाई मात्र होइन, बाह्य जिल्लाका हाम्रो पार्टीका नेताहरूलाई समस्या पर्दा पनि हामी सञ्जालमा उत्रन्छौं।
यो हाम्रो बफादारी हो।

हामी धेरै कार्यकर्ता प्रत्यक्ष रूपमा माओवादी र प्रचण्डप्रति अझै बफादार छौं र रहिरहनेछौं।

हामीलाई अझै पनि प्रचण्ड व्यक्ति होइनन्, विचार हुन् भन्ने कुरामा कुनै द्विविधा छैन।
अन्य कसैले मानोस् या नमानोस् — यो हाम्रो स्विकारोक्ति हो। हामी यसमा तथ्यसहित तर्क गर्न सक्छौं, बहस गर्न सक्छौं।

प्रचण्ड धेरै कुरामा गलत हुन सक्छन्, तर जनयुद्धद्वारा स्थापित मूल्य र मान्यता गलत छैन र हुन सक्दैन।
यो प्रचण्डको नेतृत्वमा स्थापित दल, माओवादी र त्यसका सबै तहका नेता–कार्यकर्ताको गर्विलो देन र बलिदानले सम्भव भएको हो।
स्विकार गरौं — यसमा सबैभन्दा धेरै श्रेय प्रचण्डलाई जान्छ।

प्रचण्डलाई मन नपराउनेहरूले उनलाई “छेपारो प्रवृत्ति” भनेर खिसी–ट्युरी गरे पनि हामीलाई त्यसमा कुनै आपत्ति छैन।
रगत र बलिदानबाट स्थापित मूल्य र मान्यता, जब देश र संविधान नै संकटमा पर्छ, त्यसबेला फेरि सतिसाल भएर उभिनुपर्ने जिम्मेवारी हाम्रो हो।

जनयुद्धको जगमा निर्माण भएका मूल्य र मान्यताहरू डगमगिँदा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट आक्रमण हुँदा संविधान र राष्ट्रिय स्वाधीनताको पक्षमा सबै वाम दलहरूलाई एकतामा ल्याउन र देशमा बलियो कम्युनिस्ट आधार बनाउन प्रचण्डले रङ फेर्दै जानु परे पनि त्यो परिस्थितिको आवश्यकता हो।
त्यो गर्नुपर्छ — हामीलाई त्यसमा कुनै समस्या छैन।

यदि प्रचण्ड “छेपारो” बन्नुपर्ने परिस्थिति आयो भने पनि बनून् — हामीलाई आपत्ति छैन।
आवश्यकता अनुसार परिवर्तन हुन नसक्नेले पतन बेगर अर्को विकल्प पाउँदैन।
यति ठूलो बलिदानबाट स्थापित मूल्य र मान्यता हामीले आफ्नै अगाडि पतनको बाटोमा जान दिनु हुँदैन।

स्पष्ट छ — माओवादी घटकहरू कमजोर भए यो व्यवस्था नै कमजोर हुन्छ, डगमगाउँछ।
त्यसको चेत हामी सबैमा हुनैपर्छ।

हामीले निर्माण गरेको यो व्यवस्थाको माया हामीलाई जति छ, अरूलाई छैन।
ढोक्सा थापेकै भरमा माछा खान पल्केकाहरू माछा पाल्दैनन् — ढोक्सा मात्र थापिरहन्छन्।

प्रचण्डको राजनीतिक स्वरूप र सन्दर्भ

प्रचण्डको स्वरूप हेरेर होइन, उनको राजनीतिक चरित्र बुझेर विश्लेषण गर्नुपर्छ।
२०३२ सालमा कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेका प्रचण्ड २०३५, २०४० र २०४३ सालमा नेकपा (मशाल) का महासचिव हुँदै २०५१ सालमा नेकपा (माओवादी) गठन गरी जनयुद्धको तयारीमा लागेका थिए — यो स्मरण गर्न जरुरी छ।

उनले २०८२ कात्तिक १९ गते ९ वाम दलबीचको बृहत एकता घोषणा गर्दा मात्र “रङ फेरे” होइनन्;
बरु माओवादी आन्दोलनको ऐतिहासिक निरन्तरता र राजनीतिक व्यवहारिकताको दस्तावेज थपेका हुन्।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकता हुँदा, एमालेसँग एकता हुँदा ढोल पिटेर बढाइ–चढाइ गर्नेहरूले
माधव नेपाल लगायतका दलसँग एकता हुँदा “छेपारो प्रवृत्ति” देख्छन् भने देखुन् —
हामी अझै पनि बृहत् वाम एकतामा विश्वास गर्छौं, र त्यो प्रक्रिया रोकिनु हुँदैन, जारी रहनुपर्छ।

प्रचण्डको लचकता र अन्य नेताहरूको हेपाहा प्रवृत्तिले हामी वाक्क भइसकेका थियौं।
कहिलेकाहीँ लाग्थ्यो — प्रचण्डले किन कारबाही गरेर निकाल्दैनन् भनेर।

तर सामान्य विषयलाई अतिरञ्जित बनाएर प्रचण्डको बदख्वाइ गर्ने नेताहरू आज या त आफैं सकिएका छन्,
वा पुनः प्रचण्डकै नेतृत्वमा एकताको लागि फर्किएका छन्।

टुटफुटले झुत्रो बनेको माओवादी पार्टीलाई प्रचण्ड एक्लैले थाम्दै, घिसार्दै यहाँसम्म ल्याएका हुन्।
नत्र भने, अलिकति डिलमा पुग्दा पनि घचेटी हाल्ने प्रवृत्ति हामीले धेरै पटक देखिसकेका हौं।

तत्कालीन माओवादी नेता तथा उपमहासचिव कमरेड वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि चीनमा रहँदा नेपालमा पार्टीको आठौँ महाधिवेशन चलिरहेको थियो। अध्यक्ष प्रचण्ड बाहेक अन्य पदाधिकारीहरूको चयन प्रक्रिया रोकिएको थियो।
कमरेड जनार्दन शर्मा ‘प्रभाकर’ महासचिवको लागि निकै दौडधूपमा थिए।

स्वास्थ्य लाभ गरेर चीनबाट फर्किएका अनन्तको आगमनपछि २०७९ भदौ ५ गते केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले कमरेड देव गुरुङलाई महासचिव निर्वाचित गरेपछि जनार्दन कमरेडको जीवित आत्मा यसरी भड्कियो— मानौँ माछा चिसो पानीबाट अचानक भुङ्रामा, र भुङ्राबाट तातो तावामा पुगे जस्तै। त्यसकै परिणाम हो, आजको जनार्दनको नयाँ छटपटाहट।

स्थायी समितिले दिएको ‘उप–महासचिव’ को दर्जा उनले कहिल्यै पनि आफ्नो परिचयको रूपमा अगाडि ल्याएनन्। स्थायी समितिको निर्णय र महासचिव देव गुरुङलाई उनले कहिल्यै स्वीकार गर्न सकेनन्। त्यसपछि उनको फरक मतसहितको फितलो प्रतिवेदन केन्द्रीय बैठकमा प्रस्तुत हुँदै गर्दा पार्टी सुधारको एउटा लाइन बाहेक हामीले अन्य कोणबाट हेरेनौँ।

त्यही प्रतिवेदनमा पार्टीको नाम र चुनाव चिन्ह फेरौँ भन्ने कुरा उल्लेख गर्दै, शर्मा कमरेडले अचानक ऐतिहासिक अन्तिम केन्द्रीय बैठकमा अनुपस्थित रहेर झापाली राम कार्की, अन्जना विशंखेहरूलाई लिएर ललितपुरमा पत्रकार सम्मेलन गरेका थिए।
‘माओवादी पुनर्निर्माण अभियान’को उद्घोष गर्न पुगेका शर्मा कमरेड ठूला ‘डाइनोसोर’ बाट ‘छेपारो’मा परिणत जस्तै देखिए। उनका अघि–पछिका नेता, कार्यकर्ता, युवा विद्यार्थीहरूसमेत त्यही दिनको ‘एकता घोषणा कार्यक्रम’मा देखिए— लाग्छ, रोग लागिसकेपछि दुप्लिन कति समय लाग्दो रहेछ।

कर्णाली प्रदेशबाट माओवादी पार्टीमा नेतृत्व गर्ने केन्द्रीय सदस्यको चौथाइजति मात्रै आफ्नो साथमा भएपछि, योभन्दा बढी ‘दुप्लो’ जनार्दनजीलाई सुहाउने छैन।
‘भए म अध्यक्ष, नभए प्रचण्ड पनि बन्न पाउँदैनन्’ भन्ने तर्क राख्दै पार्टीको जग नै हल्लाउने शर्मा समूहले कस्तो जागरण ल्याउँछ — हेर्न बाँकी छ।

‘नयाँ उभार ल्याउने’ भन्दै वैचारिक नेता आदरणीय मोहन बैद्यले प्रचण्डसँग पार्टी फुटाएर गएको समूहका सारथी रामबहादुर थापा पनि पछि माओवादीमै फर्किए र सत्ताको हिस्सेदार हुँदै एमालेमा पुगेको हामीले देख्यौँ।
आजको राजनीतिक रंग–रस हेर्दा लाग्छ — शर्मा कमरेडको पनि चाल ठिक छैन।
नेकपा फुट्दा काँधमा बोकेर माओवादीमै ल्याएका कमरेडहरू अहिले पनि हाम्रा बीचमा छन्।

हिजो–अस्तीसम्म ‘अजिङर’ जस्तो देखिने कमरेड विप्लव, सी प्रचण्डको एकता अभियानमा कुनै विचार र सिद्धान्तको बेमेल भएर नभई, चुनाव जितको सुनिश्चितता नदेखिएपछि भड्किएका हुन्। रोल्पामा ठाउँ नपाउने, कपिलवस्तुमा जनाधार कमजोर र चुनाव हार्ने निश्चित भएपछि, उनले बाहाना बनाएर मात्र एकता प्रक्रियाबाट टाढा भएका हुन्।
बरु, चिरन सीहरूसँगको सम्बन्ध र एकताको नाममा एमालेसँग विप्लवको नजिकपन देखिएपछि मात्र प्रचण्डसँग एकता गर्न तयार भएर, पार्टी विभाजन गर्दै आएका हुन्।

त्यसैले, विप्लव सी वैचारिक दृष्टिकोणबाट एकताको प्रक्रियाबाट अलग भएका होइनन् — उनी निश्चित ‘भूगोल’ खोजिरहेका थिए, जुन कसैले ग्यारेन्टी गर्न सक्ने अवस्थामा थिएनन्।

नेपाल कम्युनिस्ट आन्दोलनको अर्को हिस्सा — माधवकुमार नेपाल र ‘नौलो जनवाद’ लाई ‘जबज’ भन्दा ठूला विचारको रूपमा अघि सारेका मदन भण्डारीदेखि झलनाथ खनालसम्मको पार्टीमा विप्लव सी नअटाउनु वैचारिक मतभेदको कारण हो भन्न सकिँदैन।

अहिले मिडियामा पूर्वमाओवादी नेता, पूर्वमन्त्री र पूर्वब्रिटिस लाहुरेका पुत्र सुदन किराँती, जनार्दन शर्मा भन्दा पनि बढी चर्चामा छन्।
निकै आत्मकेन्द्रित तर्क गर्ने र भावनात्मक रूपमा कार्यकर्तालाई भ्रममा राख्न सिपालु सुदन किराँतीले “प्रचण्डको एकताको गाडी महानगरको फोहर बोकेर सिसीडोलतिर जाँदैछ” भनेर टिप्पणी गरेका थिए।

जनयुद्धकालमा ‘स्याम्पुले कपाल नुहाउँदा समेत कारबाही हुने हाम्रो माओवादी पार्टी हो’ भनेर बताउने फापरको ढिडो चम्चाले खाने नेताले, ‘सहमतीमै भएको शारीरिक सम्बन्धको भरमा जनवादी कारबाही म आफैले पनि भोगेको हुँ’ भनेर किन नबोलेका होलान्?
यस्ता नयाँ अतिरञ्जित ‘जोगी’हरूले खरानी धेरै दलिदिएका देखेर मलाई माओका दुई भनाइ झट्ट सम्झना आउँछन्—

“कहिलेकाहीँ हाम्रो सबैभन्दा ठूलो शत्रु हाम्रो आफ्नै बीचमा लुकेको हुन्छ।”
“शत्रुहरू हाम्रो भित्र पनि हुन सक्छन्, ती शत्रुहरू अझ खतरनाक छन्, किनभने उनीहरू कम्युनिस्टको भेषमा हुन्छन्।”

हो, लुकेको शत्रु त्यही हो, जसको पत्तो प्रचण्डले पाए।

पार्टी र कार्यकर्ताले यस्ता छद्म भेषी नेताहरूलाई चिन्न नसक्दा कति घाटा भयो भन्ने कुनै लेखाजोखा छैन।
यस्तै नेताका कार्यकर्ताहरू बजारमा यत्रतत्र सर्वत्र छन् — तपाईं पेरीसडाँडा एक-दुई घण्टा हिँड्नुभयो भने स्पष्ट देख्न सक्नुहुन्छ; ब्राण्डेड बेरोजगार, सुकिला नेताहरू — जसले चम्चाले ढिडो खान सिकाउनेको नयाँ अवतार धारण गरेका छन्।

प्रचण्डलाई प्रष्ट थाहा छ — यिनीजस्ता बाट क्रान्तिको रक्षा सम्भव छैन। तर अफसोच, बाहिरी घेराबाट सुप्रिमोलाई निकाल्न पनि सजिलो छैन।
लालची दोस्रो तहका नेताहरू र बेरोजगार, अनुशासनहीन कार्यकर्ताहरूको घेरा निकै घृणित छ। प्रश्न छ — चनाखो को होला, जसले त्यो घेरा फोड्न सकोस्?

हिजो ‘जनयुद्ध लडेका हौँ’, ‘नाफाको जिन्दगी हो’, ‘फेरि सबै खाले क्रान्तिको लागि तयार छौँ’ भनेर बोल्ने युवा नेताहरूको चालचुल ठिक छैन।
सबै खाले त्याग र समर्पणको कुरा गर्ने ती युवाहरू मार्क्सवाद–माओवाद आचरणसँग मेल खाने सामान्य जीवन जिउन किन तयार छैनन्?
कहाँबाट आउँछ त्यो भव्यशाली जिन्दगी, जुन उनीहरूले बाँच्छन्?

समाजवादसम्मको यात्रामा अघि बढेको पार्टीका कार्यकर्ताको खुट्टामा बिसौँ हजारको जुत्ता चाहिँदैन।
‘पीली र खारा’ युद्धमा लड्दा लगाएको गोल्डस्टार ब्रान्डकै जुत्ता भए पुग्छ। आखिर, माटो सुहाउने समाजवादमा माटो सुहाउने जुत्ता पो चाहिन्छ, हैन र?

जनयुद्धको समयमा धेरै कुरा भएका थिए।
तर यथास्थितिमा न त क्रान्ति सम्पन्न हुन्छ, न सम्पन्न क्रान्तिको संरक्षण गर्न सकिन्छ।
यदि तपाईं सामान्य जीवन जिउन चाहनुहुन्छ भने — तपाईंको हातमा महँगो फोन, घडी, गाडी किन चाहियो?
सुट–बुटमा किन ढल्किनुपर्ने?

सुधारको सुरुवात आफैंबाट गर्नुपर्छ।
सधैँ अरूको काँधमा दोष हालेर सुद्धता पाउने छुट छैन।

माओले १९४५ मा चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ राष्ट्रिय सम्मेलनमा भनेका थिए—

हो, यस्तै लुच्चा र हानिकारक तत्वहरूले सबै दोष प्रचण्डको काँधमा थुपारेर आफू पाखा लाग्न खोजिरहेका छन्।
‘नयाँ जनउभार ल्याउने’ भनेर बोल्नेहरूले जनउभार जोगाउन पनि हम्मे–हम्मे भएको बेला, आखिर के खोजेका हुन्?

नेपाली जनताले नयाँ जनउभार मागेका छैनन्। उनीहरूले मागेका छन् — समृद्धि र सुशासन।
हजारौँ कार्यकर्ता अनुशासित नबने, नेता कसरी अनुशासित हुन्छन्?

कम्युनिस्ट पार्टीहरू सैद्धान्तिक रूपमा विभाजन नभएका होइनन्, तर धेरैजसो कम्युनिस्टहरू कार्यविभाजन र सम्पादनमै अल्झिएर फुटेका छन्।
यो पछिल्लो ‘प्रभाकर प्रवृत्ति’ हेर्दा पनि थाहा हुन्छ — समकक्षीहरूले एक-अर्काको नेतृत्व स्वीकार गर्न नसक्ने प्रवृत्ति नै ‘प्रभाकर प्रवृत्ति’ हो।

उनकै कारण रुकुम (पूर्व र पश्चिम) का धेरै प्रभावशाली माओवादी नेताहरू निष्क्रिय छन्।
उनीहरूको भनाइमा, यही शर्मा कमरेडको ‘राजनीतिक दमन’ कारण हो।

अब जनार्दन आफ्नो यात्रामा निस्किसके।
प्रचण्डकै भाषामा भन्ने हो भने — रेल गाडी छुटिसक्यो।

अब अर्को रेल समातेर फेरि सहयोद्धाहरूमा फर्किए भने, सहज रूपमा स्वागत गर्न सकिन्छ।

संसदीय व्यवस्थामा आएर पटक–पटक मन्त्री बनेका जनार्दन त्यति मात्र ‘भुलभुलैयाँ’ मा छन्।
माधव नेपालबाट अलग भएका समाजवादी वैचारिक नेता घनश्याम भुषाल र विप्लव सीसँगको बाक्लो भेटघाटले केही निष्कर्ष त निकाल्ला, तर राजनीतिक उज्ज्वल भविष्य देखिँदैन।
पार्टीभित्रको दुई-लाइन संघर्ष त्यागेका ‘हुती–हाराहरू’ ले अझै पनि ‘अजिङरको पार्टी’ बनाउन सक्छन् भन्नेमा जनताले विश्वास गरेका छैनन्।

प्राचीन माओवादी नेता, पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले (हाल अर्कै दलमा रहँदै) भनेझैं — भेडाभेडासँग बाख्राबाख्रासँग हुनु उचित होला; तर प्रभाकर कमरेडले आफ्नो समूहको लागि नीतिगत स्पष्टता प्रस्तुत गरेका छैनन्। पुन जागरण, फरक मत वा दुई लाइनको सङ्घर्ष प्रचण्डसँगै सजिलो थियो — एमालेको ओली प्रवृत्तिले दण्ड चलाएर भित्तामा पुर्याइदिने, तर उनी दयालु छन्; आफ्नै टाउकोमा बम पड्काउने समूहलाई समेत काखमा राखेर मन्त्री बनाइदिए। मन्त्रालयमा व्यापारीहरूलाई प्रवेश गराउने, कर दायरा फेरबदल गर्ने जस्ता निर्णयहरूले शर्मालगायतलाई समेत फेरि मन्त्री बनाइदियो — प्रचण्डको यो दया अपरम्परागत छ र स्वीकार्य भएपनि सबैलाई हजम हुँदैन।

वैचारिक वृद्ध नेताहरूले पार्टी फुटाउँदा ठूलो वैचारिक मतभेद देखायो; प्रचण्डले नेतृत्व गरेको पार्टीभन्दा भिन्न तनिक भिमकाय बनने आशाले त्यसले माओवादी पार्टीलाई क्षति बाहेक धेरै उपलब्धि देखाएन। बादल समूह प्रचण्डसँग फर्किएर आफ्ना कर्तुत बचाउन सफल भए — एमाले चरणमा विलिन भएपछि फुटेका विप्लव, धर्मेन्द्र लगायत छुद्र समूहहरूले आफ्नै अस्तित्व जोगाउन आपतकालीन सहायताको खोजी गरिरहेका छन्। कर्णाली प्रदेशले पनि शर्मा कमरेडलाई विश्वास गर्ने सम्भावना कम देखिन्छ। यी नेताहरू तुरुन्तै पार्टीमा पुन:गमन नभए, प्रेस सेन्टर र रिपोर्टर्स क्लबले सम्झे अनुसार पाँच मिनेटको भाषणबाहेक अरु केही छैन।

गोपाल किराँतीको इन, भाइ सुदन किराँतीको आउट हुँदा आतन्न हुनु आवश्यक छैन। टुक्रिएका कम्युनिष्टहरूको संयुक्त विज्ञप्ति, आन्दोलन र हड्तालको धम्कीबाहेक नयाँ के प्राप्त हुनेछ? प्राप्त नै भयो भने प्रचण्डसँग छुटिएका बिभिन्न टुक्रे पार्टीहरूले जनतालाई नयाँ नयाँ नयाँ वस्तु सिर्जना गर्नु पर्ने हुन्छ।

Gen Z पुस्ताको आन्दोलन र घटित राजनीतिक अवस्थालाई हवाला दिएर युवा पुस्ताका माग उठाउनेहरू सत्तामा हुँदा किन सुधार गर्न सकेनन्? केहि मानिसहरूलाई टाउकोमा ह्यамерले हान्नै पर्ने स्तरमा प्रवेश गर्नुपर्ने अवस्था अचम्म लाग्छ।

देशमा बेरोजगारीको समस्या यति व्यापक छ — हरेक तहका युवा वैदेशिक रोजगारी र अध्ययनको नाममा पलायन भइरहेका छन्। यो रोक्न केवल भाषणले सम्भव छैन।
गोरखा काली टायर उद्योग, जनकपुर चुरोट कारखाना, बासवाली छाला उद्योग, धागो उद्योग, नेपाली कागज उद्योग, वीरगञ्ज चिनी मिल, झापा मोनेट गार्मेन्टजस्ता दर्जनौं सरकारी/अर्धसरकारी कारखानाहरू र राजनीतिक कारणले बन्द भएका ठूला कल–कारखाना पुनः सञ्चालन गर्न हाम्रो पार्टीका प्रधानमन्त्री वा अर्थमन्त्री हुँदा कस्ले र किन रोक्यो? यस्ता कुरामा सुझाव र सल्लाह दिन छाडेर, फलानो ठाउँको फलानो ठेक्का, प्लानो हाइड्रोको सेयर मलाई दिनुहोस् भन्ने घण्टोमा नेतृत्वलाई फनफनी घुमाउने अपराधी मानसिकताका नेताहरू प्रचण्डको रिङबाट बाहिरिनु तत्काल आवश्यक छ। नत्र हामी समाजवादको यात्रामा पुग्न सम्भव नहुन सक्छ — अब भाषण कम र काम बढी गरौं; नयाँ पुस्ताका माग यही हुन्।

अब नेपालमा कम्युनिष्ट आन्दोलनको एउटा ठूलो घटकले इतिहास बदल्ने गरी कोल्टो फेरिसकेको छ। हामी विगततिर फर्किन चाहँदैनौं; टुटफुट र विभाजनले हामीलाई दिक्दार बनाइसक्यो। हामी वास्तवमै समुन्नत (समृद्ध) नेपाल चाहन्छौं र परिकल्पना पनि गरिरहेका छौं। पुराना अनुहारबाट राज्यमा केही हुने छैन भन्ने आम जनताको बुझाइलाई गलत साबित गर्न सकिएन भने, हामीले साथ छोड्नुपर्ने विकल्प अब खत्म छ। हामी निस्वार्थ पार्टीप्रति समर्पित हुँदा सात पुस्तासम्म आउने गाली अब हजम गर्न सक्दैनौं।

कुनै एक नेताको नाम वा पार्टीको नामले कुनै व्यक्तिगत लाभ नलिएका हामी जस्ता सयौँ–हजारौं कार्यकर्ताको मनोबल खस्कियो भने पुनः उक्लने कुनै बाटो छैन। माओले कहा थिए — “एकता बिना पार्टीले जित्न सक्दैन; इच्छा शक्ति र कार्यदिशामा एकताकै बल हुन्छ।” यो एकताबाट प्राप्त उत्साहलाई जीवित राख्न शुभकामना।