नेकपा–एकता र अबको भूमिका

Avatar photo
Dhadingpost
कार्तिक २१, २०८२

जेनेरेसन (पुस्ता) बीचको विद्रोह र आन्दोलनले अहिले नेपालको राजनीतिक दल र समग्र राजनीतिक अवस्थालाई तरङ्गित बनाएको छ। यसले दलहरूको नेतृत्व परिवर्तन र ध्रुवीकरणको विषयमा व्यापक हलचल ल्याएको छ, जसका कारण राजनीतिक वृत्त कुनै हदसम्म दिग्भ्रमित देखिन्छ। नेपाली कम्युनिस्ट पार्टीहरू रातारात नयाँ–नयाँ नाम र स्वरूपमा उदाउँदै गएका छन्। तर यिनले देश र जनताको हितका लागि कसरी अग्रगमन गर्छन् भन्ने प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण बनेको छ।

नेपालको राजनीतिक, आर्थिक र सामाजिक सन्दर्भलाई ध्यानमा राख्दा देशको सार्वभौमसत्ता र शासन व्यवस्थामा रूपान्तरण अपरिहार्य देखिन्छ। त्यसका लागि दुई-तिहाइ मतसंख्याको शक्ति हासिल गर्नु आजको अनिवार्य अवस्था हो। त्यसैले टुक्राटुक्रामा विभाजित कम्युनिस्ट शक्तिहरू एकत्रित हुनु देश र जनताको पक्षमा आशा र भरोसाको नयाँ अध्याय हो।

तर पनि, हालै नेपाली कम्युनिस्ट पार्टीले जारी गरेको सहमतिपत्रमा केही विषयहरू छुटेका, अपभ्रंश भएका र कतिपय अंशहरू कपी–पेस्ट मात्र जस्ता देखिनु खेदजनक छ।

अब सोच्ने बेला आएको छ — नेपाली कम्युनिस्ट पार्टीको उद्देश्य के हुनुपर्छ?
यो विषयमा गहिरो र व्यापक छलफल हुन आवश्यक छ — गाउँदेखि वडा, वडा हुँदै पालिका र पालिकादेखि प्रदेशसम्म निरन्तर अन्तरक्रिया र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ।

यदि हामीले राष्ट्र र जनताको सेवाका निम्ति स्पष्ट उद्देश्य तय गर्न सकेँ भने, त्यसलाई संरचनात्मक रूपमा निम्न शीर्षकहरूमा वर्गीकृत गर्न सकिन्छ।

क. राष्ट्रिय उद्देश्यहरू

१. राष्ट्रिय सार्वभौमसत्ता र स्वतन्त्रता

नेपालको स्वतन्त्रतालाई कुनै पनि बाह्य राजनीतिक वा आर्थिक प्रभुत्वबाट सुरक्षित राख्नुपर्छ।
अब बन्ने राजनीतिक संयन्त्र, दलीय नेतृत्व वा सरकारका जिम्मेवार व्यक्तिहरूले विदेशी प्रभाव र सहयोगका नकारात्मक असरबारे गम्भीर छलफल, अन्तरक्रिया र पैरवी गर्न आवश्यक छ।
विदेशीसँगको सम्बन्ध समानता र पारस्परिक सम्मानमा आधारित हुनुपर्छ। कुनै पनि विदेशी संस्थाद्वारा आयोजना गरिने कार्यक्रम, गोष्ठी वा भोजहरूमा पार्टीका नेता तथा कार्यकर्ताले अनावश्यक रूपमा सहभागी नहुने संस्कार विकास गर्नुपर्छ।

२. आर्थिक आत्मनिर्भरता

आयात र विदेशी सहायतामा निर्भरता घटाउन घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्नुपर्छ।
रुग्ण अवस्थामा रहेका वा बन्द भएका उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन नीति लागू गर्नुपर्छ।
कृषि क्षेत्रमा आधुनिक र व्यावसायिक प्रणाली लागू गरी कृषकको उत्पादनमा मूल्य निर्धारणको ग्यारेन्टी, भण्डारणको व्यवस्था र बजार विस्तारको योजना बनाउनुपर्छ।

नवीकरणीय ऊर्जा (जस्तै जलविद्युत) को विकासमा नागरिकको प्रत्यक्ष लगानी र स्वामित्व सुनिश्चित गर्नुपर्छ। ठूला जलविद्युत आयोजना नागरिक–केन्द्रित लगानी मोडलमा निर्माण गरी उत्पादित विद्युत तेस्रो देशमा निर्यातको व्यवस्था निरन्तरता दिनुपर्छ।
नयाँ उद्योग, कलकारखाना र आयोजनामा नागरिक लगानीको वातावरण सिर्जना गरी लगानी सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ।

३. समतामूलक विकास

पहाड, हिमाल र तराईबीच सन्तुलित विकास सुनिश्चित गर्नुपर्छ।
पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग जस्ता राष्ट्रिय परियोजनाहरू छिटो सम्पन्न गर्ने योजना बनाउनुपर्छ।
राष्ट्रिय विकास योजनामा यी विषयहरूलाई प्राथमिकता दिई सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ, ताकि कुनै क्षेत्र वा समुदाय विकासबाट वञ्चित नहोस्।
विकासका नीति बनाउँदा राष्ट्रको क्षमता र भौगोलिक विकटतालाई मध्यनजर गर्दै सामञ्जस्यपूर्ण दृष्टिकोण अपनाउनुपर्छ।

४. वातावरणीय संरक्षण

नेपालको पारिस्थितिकी, वन र जैविक विविधताको सम्मान गर्दै दिगो विकास प्रवर्द्धन गर्न दीर्घकालीन योजना तयार गर्नुपर्छ।
हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण र सामुदायिक वनमार्फत कार्बन अवशोषणमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी भूमिका खेल्नुपर्छ।
यसले वातावरणीय संरक्षणमा नेपालको योगदान र सम्मानजनक स्थान सुदृढ पार्नेछ।

५. सुशासन र भ्रष्टाचार निवारण

भ्रष्टाचार, नातावाद र पक्षपातमुक्त पारदर्शी तथा जवाफदेही सरकार निर्माण गर्नुपर्छ।
नेता तथा कार्यकर्तामा कामरेड भावना, सादगी र निष्ठा विकास गर्न नेतृत्व तहले उदाहरणीय भूमिका खेल्नुपर्छ।
गाउँदेखि पालिकासम्म युवाहरूको छुट्टै समिति गठन गरी सुशासन कार्यान्वयनमा विशेष पहल लिनुपर्छ।
सार्वजनिक खर्च पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ अनिवार्य गर्नुपर्छ।
भ्रष्टाचारलाई शून्य सहनशीलताको नीतिमा बाँधेर सामाजिक आचरणको रूपमा व्यवहारमा उतार्नुपर्छ।
भ्रष्टाचार गर्ने र गराउने दुवैलाई कानुनी रूपमा सजाय दिइ राज्य र समाजले सामाजिक बहिष्कारको संस्कार विकास गर्नुपर्छ।

ख. जनताका लागि उद्देश्यहरू

१. सामाजिक र आर्थिक समानता

चरम गरिबी अन्त्य गर्नु आजको पहिलो आवश्यकता हो।
श्रमको उचित मूल्य निर्धारण र त्यसबाट संकलित रकमको व्यवस्थित वितरण प्रणाली लागू गर्नुपर्छ।
सामाजिक सुरक्षा कोष अनिवार्य रूपमा लागू गरी सबै नागरिकका लागि न्यूनतम पेन्सनको व्यवस्था गर्नुपर्छ।
राज्य र समाजमा विद्यमान असमानता अन्त्य गर्न नीति बनाई कार्यान्वयन गर्नुपर्छ।
सामाजिक न्याय प्रवर्द्धन गरी सम्पत्ति र अवसरको निष्पक्ष वितरण सुनिश्चित गर्नुपर्छ।

२. रोजगारी र सम्मानजनक काम

नेपालभित्र लघु उद्यम, उद्योग, व्यावसायिक कृषि योजना, पर्यटन प्रवर्द्धन र जलविद्युत आयोजनाहरू निर्माण गरी रोजगारी सिर्जना गर्नुपर्छ।
श्रमिकको अधिकारको संरक्षण र ग्यारेन्टी गर्नुपर्छ, जसले वैदेशिक रोजगारीको आवश्यकता घटाउनेछ।
देशमै रोजगारी सिर्जना भएपछि विदेशमा श्रम गरिरहेका नेपालीहरूलाई स्वदेश फर्किन सहज वातावरण तयार हुनेछ।

३. सबैका लागि शिक्षा र स्वास्थ्य

सबैका लागि निःशुल्क र गुणस्तरीय शिक्षा तथा पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्छ।
यी सेवाहरूलाई मौलिक अधिकारको रूपमा स्थापित गर्नुपर्छ।
राज्यले स्वास्थ्य र शिक्षामा निःशुल्क व्यवस्था गर्दै ती क्षेत्रमा भइरहेको व्यापारीकरण नियन्त्रण गर्न स्पष्ट नीति अपनाउनुपर्छ।
कम्युनिस्ट सिद्धान्तअनुसार लगानी सुरक्षाको उचित व्यवस्थापनसहित यी क्षेत्रहरूलाई जनमुखी बनाइनुपर्छ।

४. भूमि र स्रोत सुधार

किसान, कामदार र सीमान्तकृत समूहहरूलाई प्राथमिकता दिँदै भूमि र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण वितरण सुनिश्चित गर्नुपर्छ।
भूमि सुधारले उत्पादन वृद्धि र सामाजिक न्याय दुवैलाई सुदृढ पार्नेछ।

५. लैङ्गिक र सामाजिक समावेशीकरण

महिला, दलित, आदिवासी, मधेसी, लोपोन्मुख तथा अल्पसंख्यक समुदायलाई शासन र समाजमा पूर्ण तथा अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्छ।
यसले उनीहरूलाई आफ्नो अधिकार र हितको संरक्षणमा सक्रिय भूमिका खेल्न सक्षम बनाउनेछ।

६. लोकतान्त्रिक सहभागिता

स्थानीय परिषद्‌देखि राष्ट्रिय योजनासम्म जनताको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ।
पार्टी र राज्य दुवै तहमा लोकतान्त्रिक अभ्यास सुदृढ गर्दै समतामूलक समाजवाद निर्माणमा सहयोग गर्नुपर्छ।
नेतृत्वमा युवाहरूको अग्रसरता सुनिश्चित गर्दै वडादेखि पालिकासम्मको नेतृत्व हस्तान्तरणको प्रक्रिया पारदर्शी बनाइनुपर्छ।

ग. अन्तर्राष्ट्रिय ऐक्यबद्धता

विकासशील राष्ट्रहरूबीच शान्ति, साम्राज्यवादविरोधी एकता र आपसी सहयोग प्रवर्द्धन गर्नुपर्छ।
यस्ता सहयोगहरू निशर्त, पारदर्शी र समान साझेदारीमा आधारित हुनुपर्छ।
अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको नैतिक आवाज बलियो बनाउँदै जलवायु परिवर्तन र बसाइँसराइमा विश्वव्यापी न्यायको वकालत गर्नुपर्छ।
असंलग्न राष्ट्रहरूको दायरा फराकिलो बनाउँदै नेपालले आफ्नो सार्वभौम अधिकारको संरक्षणका लागि दृढ आवाज बुलन्द गर्नुपर्छ।

संक्षेपमा

नेपाली कम्युनिस्ट पार्टीको मुख्य लक्ष्य हुनुपर्छ —
“सार्वभौम, न्यायपूर्ण, समतामूलक र आत्मनिर्भर समाजवादी नेपाल निर्माण गर्ने”,
जहाँ प्रत्येक नागरिक सम्मान, समानता र अवसरका साथ बाँच्न सकोस्।

(उही पुरानै शैली, रङ्ग, ढाँचा र ढर्रामा पार्टी सञ्चालन हुने हो भने यो एकताको कुनै काम छैन।)

(लेखकः बुढाथोकी (एनआरएनए पोर्चुगलका महासचिव हुन्)