
नयाँ वर्ष हाम्रो भित्ताको पात्रो फेरिने समय मात्र होइन, यो त आशा, उत्साह र परिवर्तनको संवाहक पनि हो । विगतलाई समीक्षा गर्ने र भविष्यलाई नयाँ दृष्टिले हेर्ने क्षण पनि हो । समयको निरन्तर बहावसँगै नयाँ संकल्प लिएर आउने उत्सव हो । तर हाम्रा गाउँका धेरै घरहरूमा नयाँ वर्षको रौनकभन्दा पनि उराठलाग्दो शून्यता छ । अवसर खोज्दै विदेश गएका युवाले गाउँमा छोडेको रिक्तता छ । बाबुआमाको एक्लोपनसँगै रित्तिँदै गएको आँगन छ ।
प्राकृतिक सुन्दरताले हराभरा हाम्रा गाउँका खेतबारी, आँगन र गल्लीहरू आज शान्त छन् । मौन छन् । हाँसो र चहलपहलसँग उठ्ने हाम्रा घरगोठ युवाहरू पलायन भएसँगै निरस छन् । आँगनमा खेल्ने केटाकेटी छैनन्, छन् त गाउँका बुढाबुढीहरू मात्र, जो आफ्ना सन्तानको बाटो हेर्दै दिन गन्दै आफ्नो आयु भुक्तान गरिरहेका छन् । उनीहरूका लागि नयाँ वर्ष उत्सवभन्दा बढी पर्खाइको अर्को वर्ष बनेको छ ।
विदेश जानु धेरै नेपालीहरूको रहर होइन, बाध्यता हो । आर्थिक कठिनाइ, रोजगारीको अभाव र भविष्यप्रतिको चिन्ताले युवाहरूलाई परदेशिन बाध्य बनाएको छ । परिवारसँगै बस्ने रहर विवशताको कहर बनेको छ । आफू र आफ्नो परिवारको सुन्दर भविष्यका लागि जन्मथलो छोडेर परदेशिँदा गाउँ खाली–खाली बन्दै गइरहेका छन् । जहाँ रेमिटेन्स त आउँछ, तर मानिस हराउँदै गइरहेका छन् । गाउँघर मसानघाटजस्ता भएका छन् । समाज सिथिल बन्दै गइरहेको छ । उर्वर भूमि मरुभूमिमा परिणत भइरहेको छ ।
परदेशी भूमिमा नेपालीहरूको जीवन त्यति सहज छैन । नौलो परिवेश, दिनरातको कडा परिश्रम र आफ्नोपनको अभावले शारीरिक र मानसिक रूपमा शिथिल बनाउँछ। तैपनि उनीहरू आफ्ना दुःखपीडालाई लुकाएर परिवारका लागि काम गरिरहेका हुन्छन् । यसरी विदेशको सपना पूरा गर्न खोज्दा गाउँको वास्तविकता झन् पीडादायी बन्दै जान्छ । विदेशी भूमिमा भनेजस्तो जीवनयापन गर्न नपाउँदा आफ्नो भविष्य घाटमा जल्न पुगेको सपना बन्छ ।
नयाँ वर्षले केवल शुभकामनाका गुलिया वाणी होइन, सोच परिवर्तनको सन्देश दिनुपर्छ । विदेश मात्र सफलता होइन, आफ्नै गाउँमा केही गर्ने दृढ इच्छाशक्ति झन् ठूलो उपलब्धि हो । युवालाई आफ्नै ठाउँमा काम गर्ने र आफ्नो भविष्य खोज्ने बनाउन गाउँलाई जीवन्त बनाउनु पर्छ । कृषि, पर्यटन र उद्योगधन्दाको विकासले गाउँमा रोजगारी सिर्जना गर्न सकिन्छ । युवाले आफ्नो भविष्य स्वदेशमै देखे वैदेशिक पलायन रोक्न सकिन्छ । तब मात्र हाम्रा गाउँघर पहिलेझैँ सुन्दर र मनमोहक बन्नेछन् ।
नयाँ वर्ष आशा र सम्भावनाको प्रतीक हो । भविष्यको सुन्दर सपना देखेर परदेशिएका दाजुभाइ दिदीबहिनीहरू यो वर्षको सुरुवातसँगै आफ्नै माटोको मायामा फर्कने वातावरण बन्नु पर्छ । भर्खर बनेको नयाँ सरकारले परदेशको दूरी घटाउँदै आफ्नै देशले तिमीलाई पर्खिरहेको छ, तिमीले छोडेको गाउँ अझै उस्तै छ भन्ने सन्देश दिन सक्नु पर्छ ।
विगत फेरिएको छ । यो वर्षको नयाँ वर्ष अवसरको नयाँ वर्ष बन्नेछ । विगतका कमी–कमजोरीलाई हटाई नयाँ बाटो खोज्ने र गाउँको शून्यतामा प्राण भर्ने वर्ष बन्नेछ । यो वर्ष युवालाई आशा जगाई आफ्नै माटोमा आफ्नो भविष्य खोज्ने वर्ष बन्नेछ भन्ने दिशामा सरकारका नीति तथा कार्यक्रमहरू आउन सके नयाँ वर्षले साँच्चिकै सार्थकता पाउने छ ।
छ।
















