
काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) ले ‘विपद् व्यवस्थापन विभाग’ को प्रमुखमा संघका उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (गोर्खाली) लाई नियुक्त गरेको छ ।
सन् २०२५–२७ कार्यकालका लागि परोपकार तथा मानवीय सहायता विभाग अन्तर्गतको यो महत्वपूर्ण जिम्मेवारी श्रेष्ठलाई दिइएको हो । संघका अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवि खड्काद्वारा हस्ताक्षरित पत्रानुसार, उनलाई आगामी अप्रिल १५ सम्ममा बढीमा २५ सदस्यीय समिति र ५ जना विज्ञ सल्लाहकारहरू मनोनयन गरी सिफारिस गर्ने अधिकार समेत दिइएको छ ।
अनुभव र योगदानको कदर
सामाजिक उद्यमशीलता र मानवीय सेवामा १५ वर्षभन्दा लामो अनुभव बटुलेका श्रेष्ठ यसअघि पनि संकटको समयमा अग्रपंक्तिमा रहेर काम गर्दै आएका थिए । उनीको प्रमुख योगदानहरू यस प्रकार छन्:
- विनाशकारी भूकम्प (२०१५): लाप्राक र बारपाक पुगेर प्रत्यक्ष राहत वितरण ।
- कोभिड-१९ महामारी: युएई सरकारसँग समन्वय गरी करिब २०० मिलियन रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउन सफल । यसै योगदानका लागि उनीले दुबईका राजकुमारबाट ‘कोभिड-१९ हिरो अवार्ड’ प्राप्त गरेका थिए ।
- अन्य विपद्: बाराको हावाहुरी (२०१९), बाढी (२०२०) र जाजरकोट भूकम्पमा कुशल नेतृत्व र सहयोग ।
- पुनर्निर्माण: पछिल्लो समय काठमाडौं उपत्यका ट्राफिक नियन्त्रण कक्षको पुनर्निर्माणमा उहाँको नेतृत्व रहेको थियो ।
शिक्षा र खेलकुदमा सक्रियता
धादिङ बेनीघाट रोराङमा जन्मिएर दुबईलाई कार्यथलो बनाएका श्रेष्ठ एनआरएनएका पूर्व सचिव र मध्यपूर्व क्षेत्रीय संयोजक समेत रहिसकेका छन् । उनीले विपन्न चेपाङ समुदायका बालबालिकाका लागि विद्यालय स्थापना गर्नुका साथै आठौं र नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए टोलीको सफल नेतृत्व गरेका थिए ।
“नवनियुक्त विभाग प्रमुख श्रेष्ठले अबको कार्यकालमा विपद् व्यवस्थापन सम्बन्धी ठोस कार्ययोजना र कार्यविधि तयार पारी कार्यान्वयन गर्ने जिम्मेवारी पाएका छन् ।”
