
धादिङ । नीलकण्ठ नगरपालिकाले २०८२ सालको पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षाको नतिजा भोली चैत २७ गते सार्वजनिक गर्ने भएको छ ।
स्रोत व्यक्ति मेघनाथ कोइरालाका अनुसार वार्षिक शैक्षिक पात्रोअनुसार नतिजा चैत २९ गते सार्वजनिक गर्ने योजना रहे पनि सार्वजनिक बिदाका कारण निर्धारित मिति अगावै नतिजा सार्वजनिक गर्न लागिएको हो ।
यस वर्ष नीलकण्ठ नगरपालिकाभित्रका ३१ वटा सामुदायिक विद्यालयबाट ९३७ जना तथा ६ वटा संस्थागत (निजी) विद्यालयबाट २७० जना गरी कुल १,२०७ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए ।
परीक्षामा सबैभन्दा बढी विद्यार्थी नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयबाट २८१ जना सहभागी भएका थिए ।
नगरपालिकाले नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
