
धादिङ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको नयाँ कार्यसमिति चयनका लागि हेटौंडामा मतदान जारी रहेको छ ।
उक्त निर्वाचनमा धादिङका रुद्रबहादुर खत्री कोषाध्यक्ष पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेका छन् । खत्री अध्यक्षका उम्मेदवार बेदबहादुर श्रेष्ठको समूहबाट उम्मेदवारी दिएका हुन् ।
कोषाध्यक्ष पदका लागि धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका खत्रीसँगै जीवनकाजी मकजु श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा कुल २१३ मतदाता सहभागी रहेका छन् । बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ ।
उद्योग व्यवसायीहरूको नेतृत्व चयनसँग जोडिएको यस निर्वाचनलाई प्रदेशभर चासोका साथ हेरिएको छ । नयाँ नेतृत्व चयनसँगै बागमती प्रदेशको व्यावसायिक क्षेत्र थप सशक्त हुने अपेक्षा गरिएको छ ।
