
धादिङ । जिल्लाका इसाई धर्मावलम्बीहरूले आज विभिन्न ६ स्थानमा विशेष समारोहका बीच इस्टर सन्डे मनाइरहेका छन् ।
धादिङको त्रिपुरासुन्दरी, ज्वालामुखी र नीलकण्ठ क्षेत्रका साथै धादिङ क्षेत्र नम्बर १ अन्तर्गतका पालिकाबाट इसाई समुदायका श्रद्धालुहरू एकै ठाउँमा भेला भई सामूहिक रूपमा पर्व मनाइरहेका छन् । सिद्धलेक गाउँपालिकाको बुङचुङ, उत्तरी धादिङको रुबी भ्याली गाउँपालिकाका लापा र तिप्लिङ, खनियाबास गाउँपालिकाको दार्खा तथा गंगाजमुना गाउँपालिकाको री गाउँमा विशेष सांस्कृतिक कार्यक्रमसहित इस्टर सन्डे मनाइएको धादिङ इसाई समाजका अध्यक्ष लेखबहादुर तामाङले जानकारी दिए ।
धादिङ जिल्लामा करिब ७० हजारको हाराहारीमा इसाई धर्मावलम्बी रहेको अनुमान गरिएको छ ।
इस्टर सन्डे किन मनाइन्छ ?
इस्टर सन्डे क्रिश्चियन धर्मको महत्वपूर्ण पर्व हो । यस दिन येशू ख्रीष्टको पुनरुत्थान (मृत्युपछि फेरि जीवित भएको विश्वास) को सम्झना गरिन्छ । धार्मिक विश्वासअनुसार रोमनहरूले येशू ख्रीष्टलाई क्रूसमा टाँगेपछि उहाँ पुनः जीवित हुनुभएको मानिन्छ ।
इस्टर पवित्र हप्ताको अन्तिम दिन हो, जसअन्तर्गत पाम सन्डे (येशूको यरूशलेम प्रवेश), होली थर्सडे (अन्तिम भोज), र गुड फ्राइडे (क्रूसमा टाँगिएको र मृत्यु) जस्ता महत्वपूर्ण दिनहरू पर्दछन् । यी सबै घटनाहरूको समापन येशूको पुनरुत्थानको स्मरण गर्दै इस्टर सन्डेमा गरिन्छ ।
प्रारम्भिक क्रिश्चियनहरूले प्रत्येक आइतबारलाई इस्टरको रूपमा मनाउने गर्थे भने दोस्रो र तेस्रो शताब्दीदेखि इस्टर सन्डे वार्षिक रूपमा मनाउन थालिएको इतिहास पाइन्छ ।
