
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले २०८२ सालको पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शिक्षा अधिकृत बोधराज पाठकका अनुसार परीक्षामा सहभागी ४९२ जना विद्यार्थीमध्ये ४०० जना उत्तीर्ण भएका छन् । यस वर्ष कुल उत्तीर्ण प्रतिशत ८१.३ रहेको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय सुधार मानिएको छ ।
अनुत्तीर्ण भएका ९२ जना विद्यार्थीहरूका लागि वैशाख ६ गतेदेखि १० गतेसम्म पूरक परीक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
यस वर्ष पञ्चकन्या मावि स्यादुल, वितेस आवि भारपाङ, वेनी शिक्षा सदन, ब्राइट फ्यूचर र कालिका आवि मोहरियाले शतप्रतिशत नतिजा ल्याएका छन् । कालिका आविबाट ३ जना विद्यार्थी सहभागी भएका थिए र सबै उत्तीर्ण भएका छन् ।
सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको बागेश्वरी माविबाट ९० जनाले परीक्षा दिएका थिए, जसमध्ये ६९ जना उत्तीर्ण भएका छन् ।
विगत पाँच वर्षको नतिजा विश्लेषण
गाउँपालिकाको तथ्यांक अनुसार विगत पाँच वर्षमा नतिजामा निरन्तर सुधार देखिएको छ।
- २०७८: सहभागी ४९१, उत्तीर्ण १३९ (२८.३१%)
- २०७९: सहभागी ४९७, उत्तीर्ण १३२ (२६.५५%)
- २०८०: सहभागी ५०९, उत्तीर्ण १७० (३३.३९%)
- २०८१: सहभागी ५४०, उत्तीर्ण ३१२ (५७.७७%)
- २०८२: सहभागी ४९२, उत्तीर्ण ४०० (८१.३%)
यसरी हेर्दा पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार हुँदै गएको देखिन्छ ।
