
धादिङ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिको आगामी निर्वाचनका लागि धादिङका रुद्रबहादुर खत्रीले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचन यही २३ र २४ गते हुने तय भएको छ ।
खत्री धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् । उनले अध्यक्ष पदका उम्मेदवार बेदबहादुर श्रेष्ठ नेतृत्वको टिमबाट प्रदेश कोषाध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।
निर्वाचन प्रयोजनका लागि उम्मेदवार मनोनयन शुल्कसमेत निर्धारण गरिएको छ । जसअनुसार अध्यक्ष पदका लागि ३ लाख रुपैयाँ, उपाध्यक्ष पदका लागि १ लाख ५० हजार रुपैयाँ, कोषाध्यक्ष पदका लागि १ लाख ५० हजार रुपैयाँ तथा कार्यकारिणी समिति सदस्य पदका लागि ५० हजार रुपैयाँ तोकिएको छ ।
उक्त निर्वाचनले बागमती प्रदेशको उद्योग वाणिज्य क्षेत्रको नेतृत्व चयन गर्ने भएकाले व्यवसायीहरूबीच विशेष चासोका साथ हेरिएको छ ।
