धादिङ जिल्ला स्तरीय टी–२० क्रिकेट बैशाख २ देखि सुरु हुने

Avatar photo
Dhadingpost
चैत्र १५, २०८२

धादिङ । बागमती प्रदेश सरकारले आगामी जेठ २४ देखि ३० गतेसम्म आयोजना गर्ने प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि धादिङबाट सहभागी हुने क्रिकेट टोली छनोट गर्न जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

धादिङ जिल्ला क्रिकेट संघको शनिबार बसेको कार्यसमिति बैठकले बैशाख २ गतेदेखि पालिकास्तरीय टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको संघका अध्यक्ष दिपेश कडेंलले जानकारी दिए ।

प्रतियोगिता बेनीघाटस्थित विशालटार चन्द्रोदय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिनेछ । प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गरी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी गराइने उद्देश्य रहेको संघले जनाएको छ ।

यस प्रतियोगितामा सहभागी हुन खेलाडीहरूलाई पालिकागत हदबन्दी नराखिने निर्णय गरिएको छ । धादिङ जिल्लाभित्रका खेलाडीहरूले आफूले चाहेको टिमबाट खेल्न पाउने व्यवस्था गरिएको संघले स्पष्ट पारेको छ ।

जिल्लामा क्रिकेट खेलप्रतिको आकर्षण बढ्दै गएको अवस्थामा प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न तथा खेलाडीलाई थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । तस्वीर साङ्केतिक