
धादिङ । धादिङको खनियाबास गाउँपालिकाको गाउँसभाको १७औँ अधिवेशन आज गाउँपालिकाको कार्यालयमा भव्य रूपमा सम्पन्न भएको छ ।
गाउँपालिका प्रमुख रणबहादुर तामाङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपप्रमुख सेम्केमाना तामाङ, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, कार्यपालिका सदस्यहरू तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
अधिवेशनमा उपप्रमुखद्वारा प्रस्तुत बजेट संशोधन प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो । साथै, पालिकाभित्र उत्कृष्ट विद्यार्थी, शिक्षक तथा किसानलाई नगदसहित सम्मान गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार दुई जना उत्कृष्ट विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ, पाँच जना उत्कृष्ट शिक्षकलाई जनही १३ हजार ३३३ रुपैयाँ तथा ६ जना उत्कृष्ट किसानलाई जनही १० हजार रुपैयाँका दरले पुरस्कृत गरिएको हो ।
सम्मानित हुने विद्यार्थीमा बृचेत माविका ङिमा रिनजेन फ्युवा र सिंगलादेवी माविका मनकामना तामाङ रहेका छन्। त्यसैगरी उत्कृष्ट शिक्षकतर्फ एलिसा तामाङ, अर्जुन बहादुर तामाङ, रमिता तामाङ, राजेश गिरी र बेतिमाया तामाङ सम्मानित भएका छन्।
यस्तै, उत्कृष्ट किसानतर्फ शोभा तामाङ, टेक बहादुर तामाङ, सुनमाया तामाङ, जिदादिन तामाङ, नासुन तामाङ र छन्त लामा तामाङलाई सम्मान गरिएको छ।
गाउँपालिकाले शिक्षा र कृषि क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
