
काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । शपथ कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो २ बजेका लागि तय गरिएको छ।
अर्जुननरसिंह केसीले अन्य २७४ जना सांसदलाई शपथ गराउनेछन्। उनी बुधबार रामचन्द्र पौडेलबाट ज्येष्ठ सदस्यको हैसियतमा शपथ लिएका थिए ।
संसद् सचिवालयका अनुसार कुल ४७ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिने तयारी गरेका छन्, जसले भाषिक विविधताको झल्को दिने अपेक्षा गरिएको छ ।
शपथ कार्यक्रमका लागि हलभित्र २९५ सिटको व्यवस्था गरिएको छ । दर्शकका लागि भने बाहिर प्रोजेक्टरमार्फत प्रत्यक्ष प्रसारणको प्रबन्ध मिलाइएको संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शपथका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । संसद् भवनमा पर्याप्त स्थान नभएकाले सांसदहरूलाई साथमा एकजना मात्र ल्याउन अनुरोध गरिएको छ र सोहीअनुसार पास वितरण गरिएको जानकारी दिइएको छ ।
