
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धादिङ निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कमिटीले चैत महिना भित्रै पालिका तथा वडा तहमा चुनावी समिक्षा गर्ने निर्णय गरेको छ ।
जिल्ला संयोजक मनराज भण्डारीका अनुसार हालै बसेको बैठकले निर्वाचनमा भएको पराजयका कारणहरू खोज्न प्रत्येक पालिका र वडा कमिटीमा समिक्षा बैठक आयोजना गर्ने निर्णय गरेको हो । बैठकले चुनावमा सक्रिय रूपमा खटिएका कार्यकर्तालाई धन्यवाद दिने तथा असहयोग गर्नेहरूमाथि कारबाहीका लागि सिफारिस गर्ने पनि जनाएको छ ।
त्यसैगरी, पार्टी एकता केन्द्रसम्म सीमित रहेको भन्दै अब उक्त प्रक्रिया वडा तहसम्म विस्तार गर्ने र पार्टी सुद्धिकरण अभियानलाई तल्लो तहसम्म लैजाने निर्णय गरिएको भण्डारीले जानकारी दिए ।
निर्वाचन परिचालन कमिटीका संयोजक जगत सिंखडाको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला इञ्चार्ज पुष्पविक्रम मल्ल, केन्द्रीय सदस्य मोहन कार्की, गुरु बुर्लाकोटी, रामबहादुर भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
यस निर्वाचनमा बोधनारायण श्रेष्ठ विजयी भएका थिए। उनले निकटतम प्रतिस्पर्धी रमेश प्रसाद धमलालाई ५ हजार ८६६ मतान्तरले पराजित गरेका हुन् । धमलाले २० हजार २७७ मत प्राप्त गरेका थिए। त्यस्तै धनबहादुर घलेले १० हजार ८४ मत र रामबहादुर भण्डारीले ९ हजार ३७ मत प्राप्त गरेका थिए ।
