
धादिङ । नेपालमा पुनः बर्ड फ्लू (एच–फाइभ–एन–वान / H5N1) संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–४ र उर्लाबारी नगरपालिका–५ मा पालिएका कुखुराको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणपछि उक्त रोग पुष्टि भएको जनाइएको छ । संक्रमण पुष्टि भएसँगै सरकारले तत्काल नियन्त्रण तथा रोकथामका लागि प्रभावित क्षेत्र घोषणा गरी आवश्यक कदम अघि बढाएको छ ।
विभागका अनुसार बर्ड फ्लू देखिएको क्षेत्रमा रोग नियन्त्रण निर्देशिका २०७८ अनुसार संक्रमित क्षेत्र वरपरका कुखुरा, अण्डा तथा सम्बन्धित सामग्री नष्ट गर्ने, निसंक्रमण गर्ने र आवतजावतमा कडाइ गरिएको छ । रोग अन्य क्षेत्रमा फैलिन नदिन संघ, प्रदेश र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।
किसान र सरोकारवालालाई निर्देशन
विभागले कुखुरा पाल्ने किसान तथा व्यवसायीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । प्रमुख सुझावहरू यस्ता छन्:
- कुखुरा फार्ममा अनावश्यक व्यक्ति तथा सवारी प्रवेश नगर्न दिने
- फार्म प्रवेशअघि अनिवार्य रूपमा निसंक्रमण गर्ने
- एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजाने
- प्रयोग भइसकेका सामग्री पुनः प्रयोग नगर्ने
- फार्म प्रवेशद्वारमा निसंक्रमण औषधि प्रयोग गर्ने
- कुखुरालाई सुरक्षित तरिकाले खोरभित्रै पालन गर्ने
- फार्म परिसर नियमित रूपमा सफा र निसंक्रमण गर्ने
- कुकुर, बिरालो लगायत अन्य जनावर प्रवेश गर्न नदिने
- मरेका कुखुरालाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने
- स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने
त्यस्तै, कुखुरा तथा कुखुराजन्य वस्तुको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन पनि आग्रह गरिएको छ ।
सर्वसाधारणलाई अपिल
विभागले बर्ड फ्लू मानिसमा समेत सर्न सक्ने भएकाले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । अस्वाभाविक रूपमा धेरै कुखुरा बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा नजिकको पशु सेवा निकायमा तत्काल जानकारी गराउन अनुरोध गरिएको छ ।
