तेस्रो बागमती प्रदेश खेलकुदको तयारी सुरु, जिल्लालाई खेलाडी छनोट गर्न निर्देशन

Avatar photo
Dhadingpost
चैत्र ९, २०८२

धादिङ । प्रदेश खेलकुद विकास परिषद् ले तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ। परिषद्ले सम्बन्धित जिल्लालाई खेलाडी छनोट र आवश्यक विवरण पठाउन निर्देशन दिएको हो ।

परिषद्को निर्णयअनुसार आगामी जेठ २४ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिल्लास्तरबाट खेलाडी छनोट प्रक्रिया अघि बढाउन भनिएको छ । साथै, प्रत्येक जिल्लालाई निर्धारण गरिएको खेल संख्या, खेलाडी कोटा तथा खेल इभेन्टसम्बन्धी विवरणसमेत पठाइएको जनाएको छ ।

प्रतियोगितामा समावेश खेल विधाहरूमा फुटबल, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भलिबल, टेबल टेनिस, ब्याडमिन्टन, उसु, जुडो, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, क्रिकेट तथा पौडी रहेका छन्।

परिषद्ले जेठ ५ गतेभित्र खेलाडी छनोट गरी सहभागी हुने खेलाडी तथा अफिसियलको नामावली (सफ्टकपी र हार्डकपी) अनिवार्य रूपमा पठाउन अनुरोध गरेको छ ।

यसका लागि खेलाडी दर्ता फाराम, खेल इभेन्ट सूची, खेलाडी–प्रशिक्षक–व्यवस्थापक कोटा र नामावली पठाउने ढाँचा सम्बन्धित जिल्लालाई उपलब्ध गराइएको छ ।

आगामी प्रदेशस्तरीय प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन समयमै तयारी अघि बढाइएको परिषद्ले जनाएको छ ।