
धादिङ । नीलकण्ठ नगरपालिका मा कक्षा ८ को नगरपालिका स्तरीय (BLE) परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा सामुदायिक र संस्थागत गरी कुल १ हजार २०७ विद्यार्थी सहभागी भएका छन् ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार ३७ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । जसमध्ये ३१ वटा सामुदायिक विद्यालयबाट ९३७ जना तथा ६ वटा संस्थागत (निजी) विद्यालयबाट २७० जना विद्यार्थी सहभागी भएका छन् ।
शाखाका स्रोत व्यक्ति मेघनाथ कोइराला का अनुसार सामुदायिक विद्यालयतर्फ सबैभन्दा धेरै विद्यार्थी नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालय बाट २८१ जना सहभागी भएका छन् भने सबैभन्दा कम शंखादेवी माध्यमिक विद्यालय बाट ७ जना मात्र परीक्षामा सहभागी भएका छन् ।
संस्थागत विद्यालयतर्फ भने चिल्ड्रेनपार्क सेकेन्डरी बोर्डिङ स्कूल बाट सबैभन्दा धेरै ७४ जना विद्यार्थी सहभागी भएका छन् ।
व्यवस्थित, मर्यादित र शान्त वातावरणमा परीक्षा सम्पन्न गराउने लक्ष्यसहित आवश्यक व्यवस्थापन मिलाइएको नगरपालिकाको भनाइ छ ।
