
धादिङ । धादिङ अस्पताल मा उपचारका क्रममा एक किशोरीको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ ।
जिल्ला अस्पताल धादिङमा उपचाररत नीलकण्ठ नगरपालिका–१३ की १८ वर्षीया मिरा आचार्यको आइतबार बिहान करिब ४ बजे निधन भएको हो । घटनापछि मृतकका आफन्त तथा स्थानीयले अस्पतालको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै विरोध प्रदर्शन सुरु गरेका छन् ।
आक्रोशित भीडले अस्पताल परिसर घेराउ गरी नाराबाजी गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। पीडित पक्षले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
मृतकका आफन्तले सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने अडान लिएका छन्, जसका कारण अस्पताल क्षेत्रमा तनाव कायमै रहेको छ ।
यसैबीच, अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झा ले बिरामी अस्पताल ल्याउँदाखेरि नै अक्सिजनको कमी देखिएको बताएका छन् । स्वास्थ्यकर्मीहरूले हरसम्भव प्रयास गर्दा पनि बिरामीलाई बचाउन नसकिएको भन्दै उनले दुःख व्यक्त गरे ।
उनका अनुसार, पीडित पक्षसँग आइतबार बिहान एक चरण छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन । अस्पताल सञ्चालन समितिका अध्यक्ष काठमाडौंबाट आउँदै रहेको र उहाँ आएपछि पुनः छलफल गरिने उनले जानकारी दिए ।
पीडित पक्षले घटनाको छानबिनको माग गरेकाले त्यसका लागि आफूहरू तयार रहेको पनि अस्पताल प्रशासनले जनाएको छ । मृतकका आफन्तले सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने अडान लिएका छन्, जसका कारण अस्पताल क्षेत्रमा तनाव कायमै रहेको छ ।
