सिद्धलेक गाउँपालिकाले ४२४ लाभग्राहीलाई इन्डक्सन चुलो वितरण गर्दै

Avatar photo
Dhadingpost
चैत्र ८, २०८२

धादिङ धादिङको सिद्धलेक गाउँपालिकाले स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यसहित ७० प्रतिशत अनुदानमा इन्डक्सन चुलो वितरण गर्ने भएको छ। गाउँपालिकाले “इन्डक्सन चुलो वितरण कार्यविधि, २०८२” अनुसार प्राप्त आवेदनमध्ये छनोट भएका ४२४ जना लाभग्राहीलाई चुलो वितरण गर्न लागेको हो ।

गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य का अनुसार, वडा कार्यालयको सिफारिस र मापदण्डका आधारमा लाभग्राही छनोट गरिएको हो। यस कार्यक्रममार्फत घरायसी दाउराको प्रयोग घटाउने र वातावरणमैत्री ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार छनोटमा परेका नागरिकले इन्डक्सन चुलो लिन जाँदा परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। साथै प्रति चुलो रु. ५०० शुल्क लिएर तोकिएको मिति, समय र स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ।

इन्डक्सन चुलो वितरण तालिका

  • मिति: २०८२–११–०८ (वडा नं. १ र २)
  • मिति: २०८२–११–०९ (वडा नं. ३ र ४)
  • मिति: २०८२–११–१० (वडा नं. ५, ६ र ७)
  • समय: बिहान ११:०० बजे
  • स्थान: सिद्धलेक गाउँपालिकाको कार्यालय, बुुङडुङ, धादिङ

गाउँपालिकाले यस कार्यक्रममार्फत दाउरामा आधारित परम्परागत चुलोको प्रयोग घटाउँदै आधुनिक, सुरक्षित र वातावरणमैत्री प्रविधि अपनाउन स्थानीयवासीलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।