
धादिङबेसी । नेपाल तरुण दल धादिङका जिल्ला अध्यक्ष गोपाल विश्वकर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले २०८२ चैत ५ गते केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा उनले मुख्यतः दुई कारण उल्लेख गरेका छन् । तरुण दलको विधान २०१० (संशोधनसहित) को धारा ४ (ख) अनुसार ४५ वर्ष नाघेको व्यक्ति सदस्य रहन नमिल्ने प्रावधान रहेकाले उमेर हदका कारण पदमा बसिरहन उपयुक्त नहुने उनको भनाइ छ ।
त्यस्तै, हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा धादिङका दुवै निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवारहरूलाई जिताउन नसकिएको भन्दै त्यसको नैतिक जिम्मेवारी लिँदै पद त्याग गरेको उनले जनाएका छन् ।
विश्वकर्मा २०६४ सालदेखि निरन्तर तरुण दल धादिङको नेतृत्वमा सक्रिय रहँदै आएका थिए । आफ्नो कार्यकालमा संगठनका धेरै सदस्यहरू वडा तहदेखि केन्द्रसम्म तथा मन्त्रीस्तरसम्म पुगेकोमा उनले सन्तोष व्यक्त गरेका छन् ।
उनले संस्थापक जिल्ला सदस्यदेखि नेतृत्व तहसम्म इमान्दारीपूर्वक काम गरेको उल्लेख गर्दै आफूलाई जिम्मेवारी दिने केन्द्रीय नेतृत्व तथा नेपाली कांग्रेस धादिङप्रति आभार व्यक्त गरेका छन् । साथै, आगामी दिनमा संगठनका युवा साथीहरूलाई पार्टीको सिद्धान्त र आदर्शमा रहेर अघि बढ्न शुभकामना समेत दिएका छन् ।
उक्त राजीनामाको बोधार्थ नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङलाई पनि दिइएको छ।
