धादिङबेसीस्थित ‘आमाको माया छात्राबास’को दोस्रो वार्षिकोत्सव शनिबार

Avatar photo
Dhadingpost
चैत्र ५, २०८२

धादिङ । धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका–४ वैकुण्ठपुरीमा सञ्चालित आमाको माया छात्राबासले आफ्नो दोस्रो वार्षिकोत्सव यही शनिबार भव्य रूपमा मनाउने भएको छ ।

जनजाति कल्याण आश्रम प्रवर्द्धनमा सञ्चालित उक्त छात्राबासको वार्षिकोत्सव कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ । कार्यक्रममा धादिङ क्षेत्र नं. २ बाट निर्वाचित संघीय सांसद बोधनारायण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

छात्राबासका संस्थापक अध्यक्ष डा. नवीनबन्धु पहाडीका अनुसार कार्यक्रमका अवसरमा छात्राबासमा आश्रित विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुति रहनेछ भने संस्थालाई निरन्तर सहयोग पुर्‍याउने दाताहरूलाई सम्मान गरिनेछ ।

२०७२ भूकम्पबाट अनाथ भएकाहरुलाई सुरुमा आफैले सुरक्षा दिएर त्यसपछि जनजाति कल्याण आश्रमबाट प्रारम्भ भए सँगै यस छात्राबासको सुभारम्भ भएको थियो ।

छात्राबासको अवस्था र गतिविधि

सामाजिक सहयोगबाट सञ्चालन हुँदै आएको यस छात्राबासमा हाल २५ जना बालबालिका आश्रित छन् । उनीहरूको आवास, भोजन, स्वास्थ्य र शिक्षासम्बन्धी सम्पूर्ण जिम्मेवारी छात्राबासले नै बहन गर्दै आएको छ । साथै कम्प्युटर शिक्षा तथा विभिन्न सीपमूलक तालिममार्फत उनीहरूको समग्र विकासमा जोड दिइँदै आएको छ ।

नियमित आम्दानीको ठोस स्रोत नभए पनि समाजका विभिन्न व्यक्ति, सामाजिक अभियन्ता तथा स्थानीयको सहयोगबाट छात्राबास सञ्चालन भइरहेको छ । पछिल्लो समय जन्मदिन, पर्व–उत्सव वा विशेष अवसरमा सहयोग गर्ने संस्कार बढ्दै गएको र यसले छात्राबासलाई ठूलो टेवा पुगेको संस्थाले जनाएको छ ।

छात्राबासको दीगो व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने कार्य समेत सुरु भइसकेको छ ।

समाजका असहाय तथा अभिभावकविहीन बालबालिकाको भविष्य उज्ज्वल बनाउन समर्पित यस छात्राबासको वार्षिकोत्सवले थप सहयोग र सद्भाव जुटाउने विश्वास लिइएको छ ।