
धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ जिल्लाबाट उम्मेदवारी दिएका प्रत्यक्ष तर्फ विजेता बनेका आशिका तामाङ र बोधनारायण श्रेष्ठले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ र निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारहरूले खर्च विवरण पेश गरेका हुन्।
आशिका तामाङको खर्च: १६ लाख २१ हजार
धादिङ क्षेत्र नं. १ बाट उम्मेदवार बनेकी आशिका तामाङको तर्फबाट उनका प्रतिनिधि राम भण्डारीले १६ लाख २१ हजार ४ सय ९५ रुपैयाँ खर्च भएको विवरण दर्ता गराएका छन्। उनको खर्चको ठूलो हिस्सा प्रचार–प्रसारमा खर्च भएको देखिएको छ।
तामाङको मुख्य खर्च शीर्षकहरू:
- प्रचार प्रसार सामग्री: ८ लाख ४६ हजार रुपैयाँ
- गाडी तथा इन्धन: ३ लाख ४७ हजार २५० रुपैयाँ
- छपाइ तथा मतपत्र सम्बन्धी सामग्री: २ लाख ८५ हजार ९३० रुपैयाँ
- खाजा र खाना खर्च: १ लाख २३ हजार ११५ रुपैयाँ
- अन्य (मनोनयन, स्टेशनरी): २८ हजार रुपैयाँ
बोधनारायण श्रेष्ठको खर्च: २६ लाख ३० हजार
त्यसैगरी, धादिङ क्षेत्र नं. २ का उम्मेदवार बोधनारायण श्रेष्ठको खर्च भने आशिकाको तुलनामा बढी देखिएको छ। उनका प्रतिनिधि लिलाबहादुर श्रेष्ठले बुझाएको विवरण अनुसार कुल २६ लाख ३० हजार ३ सय ८३ रुपैयाँ खर्च भएको छ।
श्रेष्ठको मुख्य खर्च शीर्षकहरू:
- इन्धन तथा गाडी भाडा: ७ लाख २४ हजार १८० रुपैयाँ
- कार्यालय व्यवस्थापन (पालिका तथा वडा तह): ४ लाख ७० हजार रुपैयाँ
- प्रचार प्रसार तथा विज्ञापन: ४ लाख ५५ हजार ९०९ रुपैयाँ
- खाना, खाजा र आवास: ४ लाख ३१ हजार १९७ रुपैयाँ
- सञ्चार तथा सामाजिक सञ्जाल: २ लाख ५५ हजार ९२२ रुपैयाँ
- छपाइ तथा स्टेशनरी: २ लाख ७ हजार ७७५ रुपैयाँ
सार्वजनिक विवरण अनुसार बोधनारायण श्रेष्ठले सवारी साधन र इन्धनमा बढी खर्च गरेका छन् भने आशिका तामाङले प्रचार सामग्रीमा बढी जोड दिएको देखिन्छ ।
निर्वाचन आयोगले तोकेको सीमाभित्रै रहेर उम्मेदवारहरूले यो खर्च विवरण सार्वजनिक गरेका हुन् । आयोगले खर्च विवरण नबुझाउने वा ढिलो बुझाउने उम्मेदवारहरूलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।
