
काठमाडौं । मध्यपूर्व (पश्चिम एसिया) क्षेत्रमा बढ्दो युद्ध तनावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकैपटक बढाएको छ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर १०–१० रुपैयाँले मूल्य वृद्धि गरेको हो।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची आउँदा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ र डिजेल ५४ रुपैयाँले महँगिएर आएको थियो। तर मूल्यस्थिरीकरण कोषमा रहेको रकम प्रयोग गरी उपभोक्तामा पर्ने भार केही कम गर्ने प्रयास गरिएको निगमले जनाएको छ।
नयाँ समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम गरिएको छ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढेकाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको बताइएको छ।
