
काठमाडौँ । हिजो बेलुकी देशका विभिन्न जिल्लामा वर्षा भएको छ । धादिङ, चितवन, कास्की, लमजुङ, तनहुँ, इलाम, संखुवासभा लगायतका क्षेत्रमा ठूलो पानी परेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
यसका साथै कोशी प्रदेशको तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार चैत १ गतेपछि अर्को मौसम प्रणाली सक्रिय हुने सम्भावना रहेको छ। उक्त प्रणालीको प्रभावका कारण देशभर हावाहुरी, असिना र वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
चैत ३ र ४ गतेसम्म यसको प्रभाव रहन सक्ने र त्यसपछि भने प्रदूषण हट्दै मौसम क्रमशः सफा हुँदै जाने अनुमान गरिएको छ ।
