
धादिङ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी आशिका तामाङ यतिबेला मतदातालाई धन्यवाद दिन टोल–टोलमा पुगिरहेकी छन् ।
परम्परागत रूपमा कम्युनिस्ट प्रभाव रहेको क्षेत्र मानिने धादिङ–१ मा आश्चर्यजनक मतान्तरसहित विजय हासिल गरेकी तामाङ चुनावअघि मत माग्न मतदाताको घरदैलोमा पुगेकी थिइन् भने अहिले चुनावपछि मतदातालाई धन्यवाद दिन विभिन्न गाउँ र बस्तीमा पुगिरहेकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकी तामाङले एमालेका भूमी त्रिपाठी र नेकपाका राजेन्द्र प्रसाद पाण्डेलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेकी थिइन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा तामाङले ३९,१२८ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भूमी त्रिपाठीले १५,०३२ मत ल्याएका थिए भने नेकपाका राजेन्द्र प्रसाद पाण्डेले १४,७०९ मत प्राप्त गरेका थिए ।
निर्वाचनपछि पनि मतदातासँग निरन्तर सम्पर्कमा रहँदै उनीहरूले दिएको विश्वासलाई सम्मान गर्दै काम गर्ने प्रतिबद्धतासहित तामाङ विभिन्न टोल तथा बस्तीमा पुगेकी छन् ।
