
धादिङ । धादिङ जिल्लाको खनियाबास गाउँपालिकामा रहेको ल्याक्चेकुण्ड आधारभूत विद्यालयमा चिलाउने किराको समस्या बढेपछि विद्यार्थीहरूले प्रधानाध्यापकको ध्यानाकर्षण गराएका छन्।
विद्यालय परिसर वरिपरि रहेका उत्तिसका रुखबाट निस्किएको सेतो किराको चिलाउने झुस कक्षा कोठा वरिपरि र भित्रसम्म फैलिएको भन्दै विद्यार्थीहरूले समस्या समाधान गर्न माग गरेका हुन्। उक्त किराका कारण शरीर चिलाउने, फोका उठ्ने जस्ता समस्या देखिएपछि पढाइमै असर परेको विद्यार्थीहरूको भनाइ छ।
किराले धेरै चिलाउने र शरीरमा फोका–फोका उठ्ने भएकाले कक्षामा बस्नसमेत समस्या भएको विद्यार्थीहरूले बताएका छन्।
विद्यालयका प्रधानाध्यापक राजबहादुर तामाङले विद्यार्थीहरूले समस्या समाधानका लागि रुख काट्न अनुरोध गरेको बताए। विद्यालय वरिपरि उत्तिसका रुख धेरै भएकाले विद्यालय व्यवस्थापन समितिसँग छलफल गरेर आवश्यक निर्णय गरिने उनले बताए।
चिलाउने किराको समस्या बढ्दै गएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्य र पढाइमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

