आज पनि देशका धेरै ठाउँमा घाम नलाग्ने, हल्का वर्षा र चट्याङको सम्भावना

Avatar photo
Dhadingpost
फाल्गुन २६, २०८२

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै ठाउँमा घाम नलाग्ने जनाएको छ । केही दिनयता लगातार मौसम बदली रहेको छ भने आज बिहानदेखि नै धेरै ठाउँमा बादल लागेको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा, साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी–हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कतै–कतै हिमपात हुने संभावना पनि रहेको छ ।

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बदली र वर्षासँगै चट्याङको सम्भावना भएकाले सतर्क रहनु पर्ने सुझाव दिएको छ ।