
धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगसमक्ष बुझाइएको विवरण अनुसार धमलाले निर्वाचन अभियानका क्रममा १३ लाख ९९ हजार १२ रुपैयाँ ४० पैसा खर्च गरेका छन् ।
उनी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका थिए । सार्वजनिक गरिएको खर्च विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम उल्लेख गरिएको छ।
विवरण अनुसार मनोनयन दर्तामा १० हजार रुपैयाँ, मतदाता नामावलीमा ३ हजार रुपैयाँ, मतदाता नामावली प्रिन्टमा ५ हजार ७२५ रुपैयाँ खर्च गरिएको छ । त्यसैगरी प्रचारप्रसार, छपाइ तथा विज्ञापनमा २ लाख ५७ हजार ३३१ रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ ।
सवारी साधनमा ९० हजार रुपैयाँ, इन्धन खर्चमा ४ लाख ९९ हजार ६६१ रुपैयाँ, कार्यालय सञ्चालनमा २० हजार रुपैयाँ, स्टेसनरीमा ४३ हजार ५०० रुपैयाँ तथा खाना, खाजा र पानीमा ३ लाख ४८ हजार ७८० रुपैयाँ खर्च गरिएको जनाइएको छ ।
यसरी विभिन्न शीर्षकमा गरिएको खर्चको कुल रकम १३ लाख ९९ हजार १२ रुपैयाँ ४० पैसा पुगेको विवरण निर्वाचन कार्यालयमा पेश गरिएको छ ।
धमला रास्वपा उम्मेदवार बाेधनारायण श्रेष्ठ सँग पराजित भएका थिए । श्रेष्ठले २६,९४५ मत सहित विजयी हुँदा धमलनकाे २०२७९ मत आएकाे थियाे ।
