धादिङ–२ का नेकपा चुनावी कमाण्डर सिंखडाद्वारा मतदातालाई धन्यवाद, विजेतालाई बधाई

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०८२

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार रामबहादुर भण्डारीका चुनावी कमाण्डर जगत सिंखडाले मतदाता तथा पार्टी कार्यकर्तालाई धन्यवाद व्यक्त गरेका छन् ।

सिंखडाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै निर्वाचनमा आफ्नो उम्मेदवारलाई विश्वास गरी मत दिने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेका हुन् । साथै उनले निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोध नारायण श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा उनले भर्खरै सम्पन्न आम निर्वाचनमा देशभर तथा धादिङ–२ मा जनताले व्यक्त गरेको अभिमतलाई विनम्रतापूर्वक स्वीकार गर्ने उल्लेख गरेका छन् । लोकतन्त्रमा मतपेटिकाबाट आउने जनताको निर्णय नै सर्वोपरि हुने भन्दै त्यसको उच्च सम्मान गर्ने बताएका छन् ।

उनले आफ्नो पक्षमा नतिजा नआए पनि धादिङको विकास, सुशासन र नागरिकको सेवाप्रतिको प्रतिबद्धतामा कुनै कमी नआउने उल्लेख गर्दै आगामी दिनमा पनि जनताको सुखदुःखमा साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

धादिङ–२ को अन्तिम मत परिणाम यस्तो थियो:

  • तारा – ९,०३७ (राम बहादुर भण्डारी)
  • घण्टी – २६,१४३ (बोधनारायण श्रेष्ठ, विजयी)
  • रुख – २०,२७७ (रमेश प्रसाद धमला)
  • सूर्य – १०,०८४ (धन बहादुर घले)