राजेन्द्र पाण्डे र शालिकराम जम्कट्टेलद्वारा मतदातालाई धन्यवाद, विजेतालाई बधाई

Avatar photo
Dhadingpost
फाल्गुन २४, २०८२

धादिङ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर १ बाट नेकपाका तर्फबाट उम्मेदवार बनेका राजेन्द्र प्रसाद पाण्डे तथा सो क्षेत्रका चुनावी कमाण्डरका रूपमा सक्रिय रहेका नेता शालिकराम जम्कट्टेलले सामाजिक सञ्जालमार्फत मतदाता तथा विजेतालाई धन्यवाद र बधाई व्यक्त गरेका छन् ।

प्रत्यासी उम्मेदवार पाण्डेले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै धादिङका मतदाताले विगतदेखि निरन्तर दिएको विश्वासप्रति आभार व्यक्त गरेका छन् । उनले निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध जनपक्षीय उम्मेदवारका रूपमा २०४३ सालमा पहिलो पटक उम्मेदवार बनेको स्मरण गर्दै त्यसयता धादिङका जनताले निरन्तर आफूलाई विश्वास गर्दै आएको बताएका छन् ।

पाण्डेले २०४४ सालमा देशकै एक मात्र जनपक्षीय जिल्ला पञ्चायतको सभापति बन्ने अवसर पाएको, साथै २०४८, २०५१, २०५६ र २०७९ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संविधान सभा सदस्य तथा २०७४ सालमा प्रदेश सभा सदस्यका रूपमा निर्वाचित गराएकोमा धादिङवासीप्रति आभार व्यक्त गरेका छन् ।

२०७९ सालमा निर्वाचित भएपछि भौतिक पूर्वाधार मन्त्रालय र सहरी विकास मन्त्रालयमार्फत सुरु भएका सडक तथा पुल आयोजना सम्पन्न गर्ने, जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माण सुरु गराउने, धार्के–कल्लेरीटार–पिपलटार–परेवाटार–घ्याल्चोकटार हुँदै मुग्लिनपारीबाट गैँडाकोटसम्म समानान्तर सडक निर्माण गर्ने, मलेखु–ताल्ती–भण्डारा–ठोरी सडक निर्माण गर्ने तथा धादिङबेसी–रुविभ्याली सडक सम्पन्न गर्ने प्रतिबद्धता गरेको उनले उल्लेख गरेका छन् ।

तर कार्यकाल पूरा नहुँदै संसद् विघटन भएपछि ती प्रतिबद्धता पूरा गर्ने उद्देश्यले पुनः निर्वाचनमा उम्मेदवारी दिएको उनले बताएका छन् । उनले अब धादिङका जनताले सांसदका रूपमा निर्वाचित आशिका तामाङबाट विकास र नेतृत्वको निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी नेता शालिकराम जम्कट्टेलले पनि सामाजिक सञ्जालमार्फत धादिङवासी मतदाताले व्यक्त गरेको मतलाई सम्मान गर्दै निर्वाचित प्रतिनिधिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले निर्वाचनका क्रममा अथक मेहनत गर्दा पनि आफ्ना उम्मेदवारलाई विजयी गराउन नसकेकोमा क्षमायाचना गर्दै चुनावमा खटिएका सम्पूर्ण पार्टी पंक्तिलाई धन्यवाद दिएका छन् ।

जम्कट्टेलले निर्वाचनको गम्भीर समीक्षा हुने बताउँदै कठिन परिस्थितिमा आरोप–प्रत्यारोप, निराशा र अनावश्यक बहसमा नअल्झिन आग्रह गरेका छन् । समयको मागअनुसार संस्थागत निर्णयबाट परिवर्तनको प्रक्रियामा अघि बढ्नुपर्ने उनको भनाइ छ । अहिले पार्टीलाई सही समीक्षा, धैर्यता, एकता र गतिशीलताको आवश्यकता रहेको उनले बताएका छन् ।

धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङ २४ हजार ९७ मतान्तरसहित विजयी भएकी छन्। तामाङले ३९ हजार १२८ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका भूमी त्रिपाठीले १५ हजार ३१ मत प्राप्त गरेका छन् भने नेकपाका राजेन्द्र प्रसाद पाण्डेले १४ हजार ७०९ मत ल्याएका छन्। नेपाली कांग्रेसका कृष्ण रिजालले १० हजार ८० मत प्राप्त गरेका छन्।