
काठमाडौं । आज देशभर हर्षोल्लासका साथ फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ । रङ्ग र सद्भावको पर्वका रूपमा परिचित होलीले असत्यमाथि सत्यको विजय भएको सन्देश दिने धार्मिक तथा सांस्कृतिक विश्वास रहिआएको छ।
उपत्यका लगायत पहाडी जिल्लाहरूमा आज फागु पूर्णिमाकै दिन होली मनाइँदैछ भने तराई–मधेसका जिल्लाहरूमा भोलिपल्ट होली मनाउने परम्परा रहेको छ । आजका दिन सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
राजधानीको टुँडिखेल लगायत विभिन्न स्थानमा परम्पराअनुसार चीर गाडिएको छ । असत्यमाथि सत्यको विजयको प्रतीक मानिने चीरलाई पछि विसर्जन गर्ने चलन रहेको छ । चीर जलाएर बाँकी रहेको खरानीलाई शुभलक्षणका रूपमा घर–घरमा लैजाने परम्परा पनि छ।
पौराणिक कथाअनुसार होली पर्व त्रेता युगमा भगवान् भक्त प्रह्लादसँग जोडिएको मानिन्छ । दौत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनकी फुपू होलिकाले आगोमा भस्म पार्न खोज्दा होलिका स्वयं दहन भएको घटनालाई होली पर्वको प्रारम्भ मानिन्छ। भक्त प्रह्लादप्रतिको भगवान् विष्णुको कृपाको कथा धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ।
यसै घटनाक्रमसँग नरसिंह अवतार को कथा पनि जोडिएको पाइन्छ, जसमा भगवान् विष्णुले भक्त प्रह्लादको रक्षा गर्न नरसिंह अवतार धारण गरेको विश्वास छ। नारद पुराण र भविष्य पुराण लगायत धार्मिक ग्रन्थहरूमा होली पर्वको महत्त्व उल्लेख गरिएको छ।
होली पर्वलाई भगवान् श्रीकृष्णसँग पनि जोडेर हेरिन्छ । कथाअनुसार कृष्ण ले बाल्यकालमा राक्षसनी पुतनाको वध गरेको दिनको सम्झनामा पनि रङ्गोत्सव मनाउने परम्परा रहेको विश्वास गरिन्छ।
होलीका अवसरमा नीलो रङ्गलाई धैर्यता र मानवताको प्रतीक मानिन्छ भने पहेँलो रङ्ग भगवान् श्रीकृष्णको प्रिय रङ्गका रूपमा लिइन्छ । रातो रङ्गलाई सौभाग्यको प्रतीक मानिन्छ । रङ्ग, अबिर र पानीका साथ बालबालिकादेखि वृद्धवृद्धासम्म होलीमा रमाउने गर्दछन्।
बालबालिकाले पिचकारी र रङ्गिन बेलुनमार्फत रमाइलो गर्ने गर्छन् भने वयस्कहरूले रङ्ग, अबिर र सद्भाव साटासाट गर्दै होली मनाउने चलन छ । कतिपय स्थानमा बाँस वा प्लास्टिकका बोतलबाट बनाइएका पिचकारी प्रयोग गर्ने परम्परा अझै कायम छ।
होली पर्वमा मालपुवा, तरुवा र भरुवा जस्ता परिकारको विशेष महत्त्व रहने गर्दछ । गाउँघरमा भाङ मिसाइएको पेय पदार्थसमेत सेवन गर्ने चलन रहेको पाइन्छ।
होलीलाई धार्मिक मात्र नभई सामाजिक सद्भाव र भाइचाराको पर्वका रूपमा पनि लिइन्छ । विभिन्न धर्म र समुदायका मानिसहरू एउटै उत्साहका साथ होली पर्वमा सहभागी हुने परम्परा रहेको छ।
यस वर्ष पनि देशका पहाडी तथा तराईका जिल्लाहरूमा होली पर्व उत्साहपूर्वक मनाइँदै छ । होली पर्वले नेपाली समाजमा सद्भाव, भाइचारा र मेलमिलापको भावना अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

