
धादिङ । धादिङ क्षेत्र नं. २ का सूर्यध्वजाबाहक उम्मेदवार धनबहादुर घलेले नीलकण्ठ–१२ बाट आफ्नो घरदैलो तथा मतदाता भेटघाट अभियान सुरु गरेका छन् ।
उत्साहपूर्वक मतदाता भेट्दै, उहाँले नागरिकका समस्या, गुनासो र सुझावहरू सुन्नुभयो। नीलकण्ठ–१२ र १३ का बस्तीहरूमा पुगेका घलेले जनताको मागमा आधारित विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मतदाताले विगतमा भएका सडक तथा पूर्वाधार मर्मतमा ध्यान नपरेको र जनताको पक्षमा काम नगरेको अनुभव सुनाए। यसैबीच, घलेले साङकोष क्षेत्रको समृद्धि र विकासका लागि आफ्नो योजना अघि सार्दै, स्वास्थ्य सेवा घरदैलोमा पुर्याउने र रोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।
घरदैलो अभियानका क्रममा स्थानीयले उम्मेदवार घलेलाई उत्साहपूर्वक स्वागत गरे। उहाँले मतदातासँगको प्रत्यक्ष संवादमा सबैको सुझावलाई प्राथमिकता दिँदै जनताको सेवा गर्ने आश्वासन दिए ।




