
धादिङ । धादिङ–१ की उम्मेदवार आशिका तामाङले आफ्ना कार्यकर्तामाथि धरपकड भएको तथा गाडीमाथि आक्रमण गरिएको आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उक्त घटनाबारे विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।
आशिका तामाङले फेसबुकमार्फत आफ्ना कार्यकर्तामाथि धरपकड भएको र गाडी तोडफोड गरिएको उल्लेख गरेपछि घटनाको वास्तविकताबारे विभिन्न दाबी–प्रति-दाबी सार्वजनिक भएका हुन् ।
सञ्चारकर्मी विवेक अर्याल का अनुसार नेकपाका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे केवलपुर क्षेत्रमा घरदैलो कार्यक्रम सकेर फर्कँदै थिए भने आशिका तामाङ आफ्नो समूहसहित केवलपुरतर्फ जाँदै थिइन् ।
यस क्रममा फोकटपुर भन्ने स्थानमा दुवै पक्षको जम्का भेट भएको थियो । सडक साँघुरो भएका कारण आशिका समर्थकको गाडी रोकिएको र केही समय अवरोध भएको बताइएको छ । घटनास्थलमा रहेका नेकपा कार्यकर्ताहरूले फसेको गाडी धकेलेर निकाल्न सहयोग गरेको र सो क्रममा दुवै पक्षका समर्थकहरूले आ–आफ्नो चुनाव चिह्नको नारा लगाएको उनले बताए ।
यता आशिका तामाङको सचिवालयमा रहेर प्रचारप्रसारमा खटिएका दिनेश रुपाखेती ले भने घटना फरक ढंगले भएको दाबी गरेका छन्।
उनका अनुसार गाडी फसेको नभई उम्मेदवार पाण्डेको टोली अगाडि बढिसकेपछि पछाडि मोटरसाइकलमा रहेका केही कार्यकर्ताले सडकमा बाइक रोकेर अपशब्द प्रयोग गरेका थिए।
“गाडी फसेको होइन। उहाँहरू अगाडि बढिसक्नु भएपछि पछाडि रहेका कार्यकर्ताले बाटोमै बाइक रोकेर अपशब्द बोले । गाडीमा राखिएको झण्डा निकाले र केहीले लात्तीले हानेका थिए । गाडीको सिसासमेत फुटेको छ,” उनले बताए ।
रुपाखेतीले उम्मेदवार पाण्डेको प्रत्यक्ष निर्देशन हैन होला तर उहाँको कार्यकर्ताबाट अपशब्द प्रयोग गर्दै आक्रमणको प्रयास भएको र गाडी तोडफोड सत्यभएको दाबी गरे।




