
धादिङ । एड्भान्स एकेडेमीद्वारा आयोजित एकदिने अभिभावक मनोपरामर्श तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । “सजग अभिभावक, सुरक्षित भविष्य” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण प्रशिक्षक रामकुमार थापा ले गरेका थिए । उनले अभिभावकको भूमिका, बालबालिकाको मनोविज्ञान, अध्ययन बानी विकास तथा सकारात्मक अभिभावकीय व्यवहारबारे प्रस्तुति दिँदै बालबालिकाको समग्र विकासका लागि घर र विद्यालयबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए ।
उनले बालबालिकाको व्यवहार, रुचि र क्षमता बुझेर अभिभावकले उचित मार्गदर्शन गर्नुपर्ने उल्लेख गर्दै सकारात्मक वातावरण सिर्जना गर्न सके मात्र बालबालिकामा आत्मविश्वास र सिकाइप्रतिको रुचि बढ्ने धारणा राखे ।
कार्यक्रमका सभापति तथा विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठ ले विद्यालयले विद्यार्थी तथा अभिभावकको हितलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्यलाई बलियो बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
प्रिन्सिपल श्रेष्ठले बालबालिकामा पढ्ने बानी विकास गर्न अभिभावकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै घरको वातावरण, समय व्यवस्थापन र नियमित निगरानीले विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने बताए । अभिभावक, शिक्षक र विद्यार्थीबीच निरन्तर समन्वय भएमा मात्र गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्य निर्माण गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता अन्तरक्रियात्मक कार्यक्रमले बालबालिकाको व्यवहार, अध्ययन शैली तथा मानसिक अवस्थाबारे बुझ्न सहज भएको प्रतिक्रिया दिएका थिए ।
विद्यालयले आगामी दिनमा पनि अभिभावक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।




