
धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाका विभिन्न गाउँमा उम्मेदवार रामबहादुर भण्डारीले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उनले वडा नम्बर २ को ताङजोमाने तथा वडा नम्बर ३ का चौतारा र गैरा गाउँका स्थानीय बासिन्दासँग भेटघाट तथा छलफल गरेका थिए। स्थानीयले मौलिक सांस्कृतिक परम्पराअनुसार टीका, खादा र फूलमालाले उम्मेदवार भण्डारीलाई स्वागत गरेका थिए।
ताङजो गाउँमा स्थानीय बासिन्दाले भुटेको मकै र गुन्द्रुकको छोपसहित परम्परागत आतिथ्य प्रदान गरेका थिए। उम्मेदवार तथा नेताहरूले स्थानीय परिकारको स्वाद लिँदै मतदातासँग भलाकुसारी गरेका थिए।
मतदातासँग कुरा गर्दै उम्मेदवार भण्डारीले जनताको माग र आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। जनताको समस्या समाधानका लागि कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले निर्वाचित भए जनभावनाअनुसार काम गर्ने बताए।
भण्डारीले शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका क्षेत्रमा प्राथमिकताका साथ योजना अघि बढाउने धारणा राखेका थिए।
स्थानीयवासीहरूले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, कृषि उत्पादनको बजारीकरण तथा युवालाई रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
कार्यक्रममा स्थानीय अगुवा, युवा तथा महिला समूहको उल्लेख्य उपस्थिति रहेको थियो।




