
धादिङ । विश्वभर छरिएर रहेका धादिङ्गेहरूको साझा संस्थाका रूपमा परिचित अन्तर्राष्ट्रिय धादिङ समाजले शुक्रबार साँझ धादिङका उम्मेदवारहरूसँग निर्वाचन विशेष भर्चुअल साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा औपचारिक रूपमा सबै उम्मेदवारहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको जनाईएपनि धादिङ क्षेत्र नं. २ का उम्मेदवारहरू रमेश धमला, रामबहादुर भण्डारी र बोधनारायण श्रेष्ठ मात्र सहभागी भएका थिए ।
कार्यक्रममा विभिन्न देशमा रहेका धादिङ्गेहरूले उम्मेदवारहरूलाई चुनावी एजेन्डा, विकास योजना र भावी कार्यक्रमका विषयमा प्रश्न गरेका थिए ।
नेपाली कांग्रेसका उम्मेदवार धमला र नेकपाका उम्मेदवार भण्डारीले सोधिएका प्रश्नहरूको जवाफ दिँदै मुख्य रूपमा विकास निर्माणसम्बन्धी विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेका थिए ।
त्यस्तै घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका श्रेष्ठले आफ्नो उम्मेदवारीको उद्देश्य, चुनाव जितेपछि गर्ने काम तथा योजनाहरू प्रस्तुतीकरणमार्फत स्पष्ट पारेका थिए । उनले डाटाबेस प्रणाली, नीति निर्माण, भ्रष्टाचार नियन्त्रण र सुशासनका विषयलाई विशेष जोड दिएका थिए । सहभागीहरूको प्रश्नको उत्तर पनि उनले तथ्यांक र विवरणसहित प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष राजन खकुरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका प्रेस संयोजक राजन गौतमले गरेका थिए।



