
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै आयोगले गृह मन्त्रालयमार्फत देशभरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएको जनाएको छ ।
निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लास्तरका आचारसंहिता अनुगमन समितिलाई सक्रिय बनाइनेछ । निषेधित कार्य भएको पाइएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन निर्देशन दिइएको छ ।
मतदानको दिन अत्यावश्यक सेवासम्बन्धी सवारीसाधन भने सञ्चालनमा रहनेछन् । एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत् तथा खानेपानी मर्मतका सवारीसाधन निर्वाध सञ्चालन हुने जनाइएको छ ।
सार्वजनिक तथा निजी सवारीसाधन भने फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइनेछ । पास प्राप्त सवारीसाधनलाई मात्र सञ्चालनको अनुमति दिइनेछ ।
यसैगरी, अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ अनुसार मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सक्नेछन् ।



