धादिङ १ मा स्वतन्त्र उम्मेदवार संजेलद्वारा पाण्डेलाई समर्थन घोषणा

Avatar photo
Dhadingpost
फाल्गुन १३, २०८२

धादिङ । प्रतिनिधि सभा सदस्यका लागि धादिङ निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका निरन्जन संजेल ले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेकपाका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे लाई समर्थन गर्ने घोषणा गरेका छन्।

बुधबार धुनीबेसी नगरपालिका–१ भञ्ज्याङपोखरीमा आयोजित चुनावी सभामा संजेलले औपचारिक रूपमा आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन्। सो अवसरमा पाण्डे र संजेलबीच आपसी सहमति पत्रमा हस्ताक्षर समेत गरिएको थियो।

कार्यक्रममा बोल्दै संजेलले पाण्डेलाई धादिङको विकासका लागि सक्षम र अनुभवी नेता भएको उल्लेख गरे। “राजेन्द्र प्रसाद पाण्डे धादिङको विकासप्रेमी नेता मात्र नभई सिंगो देशकै एक अभिभावक हुनुहुन्छ,” उनले भने, “धादिङको सर्वाङ्गीण विकासका लागि उहाँको विजय आवश्यक देखिएकाले मैले उम्मेदवारी निष्क्रिय पारेर समर्थन गर्ने निर्णय गरेको हुँ।”

यसअघि मंगलबार साँझ सामाजिक सञ्जालमार्फत नै पाण्डेलाई समर्थन गर्ने घोषणा गरेका संजेलले सहमति पत्रमा हस्ताक्षर गरेसँगै चुनावी अभियानमा सक्रिय रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

संजेलको समर्थनले धादिङ क्षेत्र नं. १ मा पाण्डेको पक्षमा चुनावी माहोल थप मजबुत बन्ने अपेक्षा गरिएको नेकपा स्रोतले जनाएको छ।

चुनाव नजिकिँदै जाँदा धादिङ–१ मा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारबीचको प्रतिस्पर्धा झन् रोचक बन्दै गएको स्थानीयको भनाइ छ।

x