
धादिङ । उत्तरी धादिङको रुवी भ्याली गाउँपालिका–स्थित लापा गाउँमा नेकपा तर्फबाट धादिङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार रामबहादुर भण्डारीलाई स्थानीयले भव्य स्वागत गरेका छन्।
तत्कालीन जनयुद्धकालमा आधार क्षेत्रका रूपमा परिचित लापामा बसेर जनजिल्ला सरकारको नेतृत्वसमेत सम्हालेका भण्डारी चुनावी घरदैलो अभियानका क्रममा गाउँ पुग्दा स्थानीयले स्वागत गरेका हुन्। ज्यूँदा सहिदका रूपमा परिचित भण्डारीले स्थानीय बासिन्दासँग भेटघाट गर्दै समर्थन र मत मागेका थिए।
कार्यक्रमका क्रममा भण्डारीले रुवी भ्याली क्षेत्रसहित धादिङ–२ को समग्र विकासका लागि सडक स्तरोन्नति, धादिङबेसी–त्रिशूली सडक कालोपत्रे, लापा मार्ग सुधार, पुल निर्माण तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस अवसरमा धादिङ–२ निर्वाचन परिचालन समितिका संयोजक जगत सिंखडाले जनयुद्धका क्रममा लापाबासीले खेलेको भूमिकालाई स्मरण गर्दै लोकतन्त्रको रक्षाका लागि हुने निर्वाचनमा पनि उम्मेदवार भण्डारीलाई विजयी बनाउन स्थानीयको महत्वपूर्ण साथ रहने विश्वास व्यक्त गरे।





