
धादिङ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धादिङ क्षेत्र नं. २ मा चुनावी गतिविधि बढिरहेका छन्। यसै क्रममा नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले विकास र परिणाममुखी राजनीतिलाई केन्द्रमा राख्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।
धमलाले परम्परागत भाषणमुखी राजनीति भन्दा काममुखी नेतृत्व आवश्यक रहेको बताउँदै धादिङको आवश्यकता र सम्भावनालाई आधार बनाएर योजना अघि सारेको जनाउनुभएको छ। उनका अनुसार धादिङको समग्र विकासका लागि रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।
युवालाई केन्द्रमा राखिएको योजना
उम्मेदवार धमलाले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई मुख्य प्राथमिकता बनाएका छन्। उद्यमशीलता विकास, स्टार्टअप सहयोग तथा सीप भएका युवालाई स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्ने लक्ष्य उनले अघि सारेका छन्। विदेशबाट फर्किएका युवाको अनुभव र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने योजना पनि उनले उल्लेख गरेका छन्।
पूर्वाधार विकासमा जोड
धमलाले धादिङको दीर्घकालीन विकासका लागि सडक, पुल र सञ्चार पूर्वाधार विस्तार आवश्यक रहेको बताएका छन्। धादिङबेँसीदेखि उत्तरी क्षेत्रसम्म सडक स्तरोन्नति गर्ने, ग्रामीण क्षेत्रमा पक्की सडक सञ्जाल विस्तार गर्ने तथा इन्टरनेट सेवा पहुँच बढाउने योजना अघि सारिएको छ।
ऊर्जा क्षेत्रतर्फ बुढीगण्डकी जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने र प्रभावित स्थानीयको समस्या समाधान गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
स्वास्थ्य र खानेपानी सुधार
धादिङ अस्पतालको स्तरोन्नति गर्दै विशेषज्ञ सेवा उपलब्ध गराउने तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थालाई सुदृढ बनाउने योजना सार्वजनिक गरिएको छ। खानेपानी पहुँच विस्तार र सरसफाइ सुधारका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य पनि राखिएको छ।
शिक्षा र खेलकुद विकास
शिक्षालाई व्यवहारिक र प्राविधिक बनाउने योजनासहित विद्यालयहरूमा नयाँ प्रविधि प्रयोग गर्ने वातावरण तयार पारिने उल्लेख गरिएको छ। साथै खेलकुद विकासका लागि सुविधायुक्त खेलमैदान निर्माण गर्ने प्रतिबद्धता पनि गरिएको छ।
पर्यटन र कृषि प्रवर्द्धन
धादिङको पर्यटन सम्भावनालाई उपयोग गर्दै रुबी भ्याली र गणेश हिमाल क्षेत्रलाई पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारिएको छ। स्थानीय उत्पादन जस्तै कफी, अदुवा र महको उत्पादन तथा बजारीकरणमा सहयोग गर्ने लक्ष्य पनि राखिएको छ।
सुशासन र सामाजिक न्याय
धमलाले पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै भ्रष्टाचार नियन्त्रणका लागि पहल गर्ने बताएका छन्। द्वन्द्वपीडित, शहीद परिवार तथा विपन्न समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना पनि समेटिएको छ।



