
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट धादिङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बोधनारायण श्रेष्ठलाई उत्तरी धादिङका विभिन्न स्थानमा स्थानीयले भव्य स्वागत गरेका छन्।
घरदैलो अभियानका क्रममा श्रेष्ठ खनियाबास गाउँपालिका हुँदै रुबीभ्याली गाउँपालिका पुगेका हुन्। सो अवसरमा स्थानीय मतदातासँग भेटघाट गर्दै उनले परिवर्तनका लागि आफूहरूको उम्मेदवारी रहेको बताएका थिए।
“म घरदैलोको क्रममा धादिङको उत्तरी क्षेत्र खनियाबास हुँदै रुबीभ्याली आइपुगेको छु। जनताहरू घण्टीमा भोट हाल्न आतुर छन्, परिवर्तन चाहेका छन्। उत्तरी धादिङमा रास्वपालाई माया कम छैन,” श्रेष्ठले बताए।
घरदैलो अभियानमा समानुपातिक उम्मेदवार बसुमाया तामाङ, हेम थापा र मंग तामाङ लगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
अभियानका क्रममा उम्मेदवार श्रेष्ठले स्थानीय समस्या र आवश्यकताबारे जानकारी लिँदै आगामी दिनमा विकास निर्माण तथा सेवा प्रवाहमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



