गजुरीमा राजेन्द्र प्रसाद पाण्डेको घरदैलो, सडक–कृषि–रोजगारी प्राथमिकतामा

Avatar photo
Dhadingpost
फाल्गुन १०, २०८२

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे ले गजुरी गाउँपालिकाका वडा नम्बर ६, ७ र ८ का विभिन्न टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्। घरदैलो अभियानका क्रममा उनले स्थानीय बासिन्दासँग संवाद गर्दै आफ्नो चुनावी प्राथमिकता सार्वजनिक गरेका हुन्।

घरदैलोका क्रममा उम्मेदवार पाण्डेले सडक पूर्वाधार सुधार, कृषि उत्पादनको बजारीकरण र युवालाई लक्षित रोजगारी कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको बताए। उनले ग्रामीण सडक सञ्जाल विस्तार गर्ने, किसानका उत्पादनलाई बजारसँग जोड्ने र युवाका लागि स्वरोजगारमूलक तालिम तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारे।

मतदातासँगको भेटघाटका क्रममा पाण्डेले स्थानीय आवश्यकता र सुझावलाई नीति निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरे। जनतासँगको प्रत्यक्ष संवादमार्फत विकास, सामाजिक सुरक्षा र पूर्वाधार सुदृढीकरणलाई प्रभावकारी रूपमा अघि बढाउने उनले बताए।

उनले धादिङ–१ लाई समृद्ध र नमुना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित कृषि, पर्यटन र साना तथा मझौला उद्यम प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने योजना रहेको उल्लेख गरे। साथै, युवाको वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै स्थानीय स्तरमै आयआर्जनका अवसर विस्तार गरिने उनले बताए।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले उम्मेदवारसँग आफ्ना समस्या र अपेक्षा राख्दै विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

x