
नातिबाब भट्ट
कोलोराडो । कोलोराडोमा बसोबास गर्दै आएका नेपालीभाषी समुदायले फागु पूर्णिमाको अवसर पारेर होली पर्व सामूहिक रूपमा मनाउने तयारी गरेका छन्। बसन्त ऋतुको आगमनसँगै आपसी सद्भाव, एकता र सांस्कृतिक संरक्षणको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कोलोराडोस्थित नेपाली समुदायको साझा संस्था “नेपाली घर”को आयोजनामा आगामी मार्च १ तारिख आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर)मा होली उत्सव मनाइने कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष बसन्त लम्सालले जानकारी दिएका छन्।
कार्यक्रममा कोलोराडोमा रहेका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, पत्रकार तथा नेपालीभाषी परिवारलाई सहभागी हुन आग्रह गरिएको छ। नेपाल र नेपाली संस्कृतिप्रति चासो राख्ने स्थानीय समुदायलाई समेत कार्यक्रममा स्वागत गरिने संस्थाका वरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले बताए।
महासचिव भोला कटुवालका अनुसार कार्यक्रममा सहभागीहरूले एकआपसमा रंग खेल्दै भलाकुसारी गर्ने तथा नेपाली धर्म–संस्कृतिको पहिचान भावी पुस्तासम्म पुर्याउने उद्देश्य राखिएको छ। कार्यक्रम सफल बनाउन सबैलाई प्रचार–प्रसार र सहयोग गर्न पनि आग्रह गरिएको छ।
कार्यक्रममा सहभागीहरूका लागि प्रसाद स्वरूप जेरी–स्वारी वितरण गरिनेछ। साथै नेपाली घरको लोगो अंकित सेतो टी–सर्ट इच्छुक सहभागीहरूले १० डलर सहयोग रकममा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको उपाध्यक्ष चौलागाईंले जानकारी दिए।
होली पर्व असत्य माथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइन्छ। नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन चिर स्थापना गरेपछि विधिवत रूपमा होली सुरु भएको मानिन्छ। पहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन तथा मधेसमा त्यसको भोलिपल्ट होली मनाउने परम्परा छ।
नेपाल मात्र नभई विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायले पनि होली उत्सव मनाउँदै आएका छन्। परदेशमा भने सार्वजनिक बिदा नमिल्ने भएकाले प्रायः सप्ताहन्त पारेर सामूहिक रूपमा होली मनाउने चलन रहेको छ। फाइल फोटो


