
धादिङ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले नीतिगत सुधार, सुशासन र दिगो विकासलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्।
गजुरी गाउँपालिकाका विभिन्न वडामा आज आयोजित घरदैलो कार्यक्रममा उनले पार्टीको लामो राजनीतिक संघर्ष, नेतृत्व अनुभव र समाजवादप्रतिको प्रतिबद्धताले आफूलाई बलियो बनाएको बताए।
पाण्डेले भने,
“जनताले भोगिरहेका प्रशासनिक जटिलता, ढिलासुस्ती र भ्रष्टाचारजन्य प्रवृत्तिको अन्त्य बिना समृद्धि सम्भव छैन। सेवाग्राहीले सास्ती होइन, सहज सेवा पाउनुपर्छ। त्यसका लागि नीतिगत हस्तक्षेप अपरिहार्य छ।”
धादिङ–१ क्षेत्रमा सडक, विद्युत, शिक्षा र स्वास्थ्य पूर्वाधार सुधारका लागि उनले प्रदेश र स्थानीय सरकारसँग प्रभावकारी समन्वय गर्दै अघि बढ्ने योजना सार्वजनिक गरे।
उनी विकासलाई कागजी नारा नभई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्ने प्रतिबद्धता दोहोर्याए।
कृषि उपजको सहज बजारीकरण, पशुजन्य तथा दुग्धजन्य उत्पादनको वैज्ञानिक प्रशोधनमार्फत किसान र उपभोक्तालाई लाभ पुग्ने वातावरण निर्माण गर्ने योजना पाण्डेको रहेको छ।
विदेश पलायनलाई चिन्ताजनक विषय ठहर गर्दै उनले भने,
“यो देशमा केही गर्न सकिँदैन भन्ने भाष्य अन्त्य गर्नुपर्छ। अस्पताल, प्राविधिक शिक्षा र कृषि क्षेत्रमा सुधार गरेर देशमै अवसर सिर्जना गर्नुपर्छ।”
पाण्डेले पपुलिज्मभन्दा माथि उठेर सुशासन, समावेशिता, धर्मनिरपेक्षता र संघीयताको पक्षमा दृढ उभिने बताए।
किसान, मजदूर, दलित, मधेसी र मुस्लिम समुदायको अधिकार संरक्षणमा आफ्नो पार्टी सधैं प्रतिबद्ध रहेको दाबी पनि उनले गरे।
अन्ततः पाण्डेले भने,
“समृद्ध धादिङ निर्माणका लागि मेरो उम्मेदवारी हो। जनताको मतले यो अभियान सफल हुनेछ भन्ने विश्वास लिएको छु।”



