
धादिङ । धादिङ क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार भूमि त्रिपाठी ले घरदैलो अभियानका क्रममा कृषि, सडक र रोजगारीलाई प्रमुख प्राथमिकतामा राखेर मतदातासँग भेटघाट गरिरहेका छन्।
गल्छी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत सिरुवानी, रैले, सागिने, पाल्चोक, दागार्चा, बायुगाउँ, टुक्टिङ र झाँक्रीटोल लगायतका स्थानमा पुगेर मतदातासँग छलफल गर्दै त्रिपाठीले धादिङलाई कृषि उत्पादनको केन्द्रका रूपमा विकास गर्ने योजना रहेको बताएका छन्। कृषिको व्यवसायीकरण गर्दै किसानले उत्पादन गरेको वस्तुलाई सहज रूपमा बजारसम्म पुर्याउने व्यवस्था मिलाइने उनको भनाइ थियो।
त्रिपाठीले ग्रामीण सडक सुधारलाई पनि प्राथमिकतामा राख्दै पाल्चोक, सिरुवानी र रैलेसम्म सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने योजना रहेको बताए। स्थानीय सम्भावनालाई उपयोग गर्दै पर्यटन विकास र रोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले सडक, रोजगारी तथा कृषि सम्बन्धी समस्या र आवश्यकताहरू राखेका थिए। मतदाताका गुनासा सम्बोधन गर्दै योजनाबद्ध रूपमा विकास कार्यक्रम अघि बढाउने प्रतिबद्धता त्रिपाठीले व्यक्त गरेका छन्।



