मैदानविहीन धादिङ क्रिकेट: उम्मेदवारको वाचाले जाग्यो नयाँ आशा

Avatar photo
नारायण सिलवाल
फाल्गुन ९, २०८२

धादिङमा क्रिकेटको इतिहास करिब तीन दशक लामो भए पनि जिल्लाले अझैसम्म व्यवस्थित क्रिकेट मैदान पाउन सकेको छैन । तर यसपटक प्रतिनिधिसभा निर्वाचनका क्रममा दुई उम्मेदवारले क्रिकेट रंगशाला निर्माणलाई आफ्नो प्रतिबद्धतामा समेटेपछि क्रिकेटप्रेमीहरूमा नयाँ आशा पलाएको छ ।

धादिङको क्रिकेट इतिहासलाई हेर्दा वि.सं. २०५५ साललाई सुरुवाती वर्ष मान्न सकिन्छ । धादिङबेसीका अनिल केसीले पहिलो पटक ड्युज बलसहित क्रिकेट खेल सामग्री ल्याएर औपचारिक रूपमा क्रिकेट खेल सुरु गरेका थिए । उही समयतिर मलेखु रिचोकटारस्थित बागेश्वरी विद्यालयमा भैरहवाबाट आएका डा. पर्शन उपाध्यायले काठको ब्याट बनाएर विद्यार्थीलाई क्रिकेट सिकाएको प्रसंग पनि धादिङको क्रिकेट इतिहासमा महत्वपूर्ण मानिन्छ ।

यी घटनालाई आधार मान्दा धादिङमा क्रिकेटको औपचारिक शुरुवात २०५५ सालबाट भएको मान्न सकिन्छ । त्यसपछि जिल्लामा क्रिकेट मोह तीव्र रूपमा फैलियो । सुरुमा धादिङबेसीका खुला चौर र सडक किनारामा अभ्यास हुँदै आएको क्रिकेट विस्तारै संगठित हुँदै गयो । पुछारबजार र बीचबजारमा छुट्टाछुट्टै टिम गठन भए र नियमित प्रतिस्पर्धा हुन थाले ।

वि.सं. २०५८ सालतिर तत्कालीन जिल्ला सभापति खेमप्रसाद लोहनीले पुछारबजार टिमलाई खेल सामग्री खरिदका लागि २५ हजार रुपैयाँ सहयोग गरेका थिए, जुन क्रिकेट विकासको लागि महत्वपूर्ण सहयोग मानिन्छ ।

२०५८ सालको अन्त्यसम्म आइपुग्दा मलेखु, गजुरी र बेनीघाट क्षेत्रमा पनि क्रिकेट खेल फैलिसकेको थियो । २०५९ सालमा चितवनसँग धादिङबेसीमा तीन दिनको अन्तरजिल्ला क्रिकेट प्रतियोगिता आयोजना भयो, जुन धादिङको पहिलो अन्तरजिल्ला क्रिकेट सहभागिता मानिन्छ ।

विस्तार हुँदै गएको क्रिकेट मोह

समयसँगै धादिङमा क्रिकेट झनै लोकप्रिय बन्दै गयो । पछिल्लो समय जिल्लाका विभिन्न पालिकामा संगठित रूपमा क्रिकेट खेल्ने क्रम तीव्र रूपमा बढेको छ ।

अहिले धादिङमा धुनिबेसी क्रिकेट क्लब, थाक्रे क्रिकेट क्लब, गल्छी क्रिकेट क्लब, गजुरी, बेनीघाट, नीलकण्ठ, धुवाँकोट क्रिकेट क्लब, त्रिपुरासुन्दरी र सिद्धलेक लगायत क्षेत्रका उत्कृष्ट टिमहरूले नियमित रूपमा क्रिकेट खेलिरहेका छन् । स्थानीय स्तरमा हुने प्रतियोगिता र अभ्यासले नयाँ खेलाडी उत्पादन भइरहेका छन् ।

धादिङका धेरै प्रतिभाशाली युवा अहिले काठमाडौंका क्रिकेट एकेडेमीहरूमा प्रशिक्षण लिइरहेका छन् । उल्लेख्य संख्यामा धादिङका खेलाडीहरूले नियमित रूपमा प्रशिक्षण लिइरहेको देखिन्छ । यसले धादिङ क्रिकेटको सम्भावना कति ठूलो छ भन्ने स्पष्ट हुन्छ ।

क्रिकेट खेल्ने युवाहरूको संख्या बढ्दो अवस्थामा भए पनि जिल्लामा स्तरीय क्रिकेट मैदानको अभाव भने अझै कायम छ । यही कारणले धेरै खेलाडीहरू अभ्यासका लागि काठमाडौं जान बाध्य छन् ।

मैदानविहीन क्रिकेट

धादिङमा क्रिकेट सुरु भएको करिब २७ वर्ष बितिसक्दा पनि जिल्लामा स्तरीय क्रिकेट मैदान छैन । जिल्लामा प्रतियोगिताहरू खुल्ला चौर वा अस्थायी मैदानमा सञ्चालन हुँदै आएका छन् । व्यवस्थित मैदान अभावका कारण प्रतिभाशाली खेलाडीहरूले पर्याप्त अवसर पाउन सकेका छैनन् ।

काठमाडौंसँग जोडिएको जिल्ला धादिङमा पनि क्रिकेटप्रति ठूलो आकर्षण भए पनि आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन । यही कारणले राजनीतिक दलहरू लामो समयसम्म आलोचित हुँदै आएका थिए ।

उम्मेदवारहरूको प्रतिबद्धता

यसपटक भने परिस्थिति केही फरक देखिएको छ । नेकपा उम्मेदवार राजेन्द्र पाण्डेरामबहादुर भण्डारी ले आफ्नो प्रतिबद्धतापत्रमा क्रिकेट मैदान निर्माणलाई स्पष्ट रूपमा उल्लेख गरेका छन् ।

रामबहादुर भण्डारीले धादिङ क्षेत्र नं. २ अन्तर्गत सुनौलाबजार भैरवी मन्दिरको काखमा क्रिकेट मैदान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने राजेन्द्र पाण्डेले पृथ्वी राजमार्ग आसपास उपयुक्त स्थान पहिचान गरी क्रिकेट रंगशाला निर्माण गर्ने बताएका छन् ।

यो प्रतिबद्धताले धादिङका क्रिकेटप्रेमीहरूलाई उत्साहित बनाएको छ । यसअघि विभिन्न निर्वाचनमा विकासका अनेक प्रतिबद्धता गरिए पनि क्रिकेट मैदानको विषय प्राथमिकतामा परेको थिएन ।

बदलिँदो युवा चेतना

अहिलेको पुस्ता पहिले जस्तो छैन । युवाहरू सचेत छन् र नेताहरूले गरेका प्रतिबद्धता पूरा भएनन् भने प्रश्न उठाउन तयार छन् ।

क्रिकेट मैदान निर्माणको प्रतिबद्धता केवल चुनावी नारामात्र नभई व्यवहारमा कार्यान्वयन भयो भने धादिङको खेलकुद इतिहासमा नयाँ अध्याय सुरु हुनेछ । व्यवस्थित रंगशाला बनेमा जिल्लाबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने सम्भावना अझ बढ्नेछ ।

आशा गरौं – धादिङ क्रिकेट रंगशाला बन्छ

धादिङमा क्रिकेट सुरु भएको झण्डै तीन दशक बितिसक्दा अब जिल्लाले आफ्नै क्रिकेट रंगशाला पाउनु आवश्यक छ ।

दुई उम्मेदवारले गरेको प्रतिबद्धता व्यवहारमा उतार्न सके धादिङका हजारौं क्रिकेटप्रेमी युवाहरूको सपना पूरा हुनेछ ।

अब आशा गरौं – आगामी केन्द्रीय सरकारले धादिङ क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकतामा राख्नेछ र धादिङ क्रिकेटको नयाँ युग सुरु हुनेछ। धादिङको क्रिकेट इतिहास

(लेखकः नारायण सिलवाल क्रिकेट संघ धादिङका उपाध्यक्ष हुन्)