धादिङ–१ मा आशिका तामाङको चर्चा बढ्दै, घरदैलो अभियान तीव्र

Avatar photo
Dhadingpost
फाल्गुन ८, २०८२

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवार आशिका तामाङको चुनावी गतिविधि पछिल्ला दिनहरूमा तीव्र बन्दै गएको छ । सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहँदै आएकी तामाङ अहिले दैनिक रूपमा मतदाताको घरदैलोमा पुगेर गुनासा संकलन तथा आफ्ना एजेन्डा प्रस्तुत गर्दै मत मागिरहेकी छन् ।

घरदैलो अभियानका क्रममा उनी मतदातासँग प्रत्यक्ष संवाद गर्दै “घण्टी” चुनाव चिन्हमा मतदान गर्न आग्रह गरिरहेकी छन् । स्थानीय स्तरमा युवावर्ग र पहिलो पटक मतदान गर्ने मतदातामाझ उनको सक्रियता चर्चाको विषय बनेको बताइन्छ ।

धादिङ–१ मा प्रमुख प्रतिस्पर्धीका रूपमा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र पाण्डे र नेकपा (एमाले) का भूमि त्रिपाठी मैदानमा छन् । उनीहरूले आफ्नो बलियो प्रतिपर्धी रास्वपा नभएको विभिन्न कार्यक्रममा बताएपनि निर्वाचनको मिति नजिकिँदै जाँदा आशिका तामाङप्रति मतदाताको चासो र चर्चा क्रमशः बढ्दै गएको स्थानीयवासीहरूको भनाइ छ।

यसै क्रममा आज मतदाता भेटघाटका लागि मलेखु बजार पुगेकी तामाङलाई ‘त्रिशुली बचाऊ अभियान’मा सक्रिय भूमिका निर्वाह गर्दै आएका वामपन्थी नेता उत्तम कडेलले साथ दिएका थिए । कार्यक्रममा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उम्मेदवार तामाङले आफू विजयी भए धादिङ–१ को समग्र विकास, पारदर्शी शासन प्रणाली र युवा सशक्तीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।