
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार आशिका तामाङले आफ्नो ९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सुशासन, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेकी छन्।
धादिङ–१ का मतदातालाई सम्बोधन गर्दै तामाङले आफू केवल कागजको प्रतिबद्धता होइन, “धादिङको पीडा र सम्भावनाको ऐना” बोकेर आएको बताइन्। उनले धादिङको कृषि उत्पादनले काठमाडौँ उपत्यकाको भान्सामा पुग्ने तरकारीको करिब २५–३० प्रतिशत हिस्सा ओगट्ने र वार्षिक अर्बौँ रुपैयाँको कारोबार हुने उल्लेख गर्दै किसानको वास्तविक अवस्था भने अझै दयनीय रहेको धारणा राखिन्।
“यदि हाम्रा किसानले अर्बौँको योगदान गर्छन् भने, किन उनीहरू ऋण र मलको अभावमा छटपटिनुपरेको छ?” भन्ने प्रश्न उठाउँदै उनले कुशासन, बिचौलियाको प्रभाव र भ्रष्टाचारलाई मुख्य समस्या औंल्याइन्। आर्थिक–सामाजिक सूचकाङ्कमा धादिङ ७७ जिल्लामध्ये ५२औँ स्थानमा पछाडि परेको तथ्य प्रस्तुत गर्दै उनले यस अवस्थालाई परिवर्तन गर्ने अठोट व्यक्त गरिन्।
प्राकृतिक स्रोत संरक्षणमा जोड
तामाङले धादिङका पहाड, नदी र प्राकृतिक स्रोतलाई सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै अव्यवस्थित उत्खनन तथा दोहन नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। वैज्ञानिक र दिगो विकास नीति कार्यान्वयन गर्दै वातावरणीय सन्तुलन जोगाउने उनको प्राथमिकता रहने बताइन्। वातावरण प्रदूषण नियन्त्रणका लागि प्रचलित कानुन कडाइका साथ कार्यान्वयन गर्ने पनि उनले उल्लेख गरिन्।
पर्यटन करिडोर निर्माणको योजना
धादिङको पर्यटन सम्भावना उजागर गर्दै उनले त्रिशूली नदी को र्याफ्टिङदेखि महाभारत शृङ्खलासम्म समेटेर ‘पर्यटन करिडोर’ निर्माण गर्ने योजना सार्वजनिक गरिन्। होमस्टे तथा ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत स्थानीय युवालाई गाउँमै रोजगारी सिर्जना गरिने उनको भनाइ छ।
“Made in Dhading” अभियान
किसानलाई सिधै लाभ पुर्याउने उद्देश्यसहित ‘Made in Dhading’ अभियान सञ्चालन गर्ने घोषणा गर्दै तामाङले बिचौलियाको अन्त्य गरी किसानलाई उचित मूल्य र प्रत्यक्ष अनुदान उपलब्ध गराइने बताइन्।
पारदर्शी डिजिटल ड्यासबोर्ड
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि ‘पारदर्शी डिजिटल ड्यासबोर्ड’ लागू गर्ने प्रतिबद्धता जनाउँदै उनले सरकारी सेवालाई डिजिटल माध्यमबाट जनताको मोबाइलसम्म पुर्याउने योजना प्रस्तुत गरिन्। धादिङलाई ५२औँ स्थानबाट शीर्ष १० जिल्लाभित्र पुर्याउने लक्ष्य उनले अघि सारेकी छन्।
स्वास्थ्य सेवामा सुधार
२४ सै घण्टा सेवा दिने अत्याधुनिक ट्रमा अस्पताल स्थापना, निःशुल्क आमा–शिशु स्वास्थ्य सेवा तथा ज्येष्ठ नागरिकका लागि घरदैलोमै स्वास्थ्य जाँच सेवा सञ्चालन गर्ने प्रतिबद्धता पनि तामाङले व्यक्त गरिन्।
प्रतिबद्धता सार्वजनिक गर्दै उनले यो अभियान व्यक्तिगत नभई धादिङको समग्र विकासका लागि साझा लडाइँ भएको उल्लेख गरिन्। “काम बोलेको हेर्न चाहनुहुन्छ भने, मलाई साथ दिनुहोस्,” भन्दै उनले मतदातासँग समर्थनको अपिल गरिन्।

