धादिङ–२ का उम्मेदवार रमेश धमला आज नीलकण्ठ–६ र ७ मा पुगे

Avatar photo
Dhadingpost
फाल्गुन ७, २०८२

धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस का उम्मेदवार रमेश धमलाले प्रजातन्त्र दिवस (फागुन ७) का अवसरमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

ऐतिहासिक, धार्मिक तथा जातीय, भाषिक र सांस्कृतिक विविधता रहेको साविक सुनौलाबजार गाविसअन्तर्गत हाल नीलकण्ठ नगरपालिका वडा नं. ६ (२७५६ मतदाता) र वडा नं. ७ (३१०९ मतदाता) मा उनले घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष साक्षात्कार गरेका हुन्।

घरदैलोका क्रममा उम्मेदवार धमलाले स्थानीयवासीका समस्या र सुझाव सुनेर टिपोट गरेका थिए। उनले निर्वाचनलाई केवल मतदानको औपचारिकता नभई मक्किएको कार्यशैलीलाई जनउत्तरदायी शासनमार्फत प्रतिस्थापन गर्दै सुशासन र स्थायित्वतर्फको ऐतिहासिक प्रस्थानविन्दु बनाउनुपर्ने बताएका छन्।

“सुनौं, बुझौं र प्रश्न पनि गरौं” भन्ने नारासहित आयोजित कार्यक्रममा क्षेत्रका कांग्रेस नेताहरू पनि धमलासँगै मतदाताको घरदैलोमा सहभागी भएका थिए।