
धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबहादुर भण्डारीले काठमाडौंमा बसोबास गर्दै आएका धादिङ–२ का मतदातासँग भेटघाट तथा चुनाव केन्द्रित अन्तरक्रिया कार्यक्रम गरेका छन्।
काठमाडौंस्थित बिजी ब्यांक्वेटको हलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू मोहन कार्की, पुष्पविक्रम मल्ल, विष्णुपुकार श्रेष्ठ, गंगालाल तुलाधर, गुरु बुरालाकोटी तथा निर्वाचन परिचालन समितिका संयोजक जगत सिंखडा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा नेकपाका उम्मेदवारलाई विजयी गराउन आह्वान गर्दै लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निर्माणको अभियानलाई सफल बनाउन आग्रह गरेका थिए। उनीहरूले “हार्ने छुट छैन” भन्ने सन्देशसहित तारा चिन्हमा मतदान गर्न मतदातासमक्ष अपिल गरेका थिए।
उम्मेदवार भण्डारीले धादिङ–२ को विकास र जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौंमा रहेका मतदाताको साथ र समर्थन आवश्यक रहेको बताए।

